निगम सञ्चालकलाई सांसदको प्रश्न : तपाईंहरु सन्तुष्ट त हुनुहुन्छ ?

समितिका सबै सदस्यले कार्यकारी अध्यक्षले गरेका निर्णय आफूहरुलाई थाहा नभएको जवाफ दिएका थिए । समितिका सदस्यहरुको जवाफ सुनेपछि सांसद हृदयश त्रिपाठीले सोधे, ‘तपाईंहरु सन्तुष्ट र आन्दित त हुनुहुन्छ नि ?’ उनको प्रश्न सुनेपछि सञ्चालकहरु मुखामुख गरेका थिए ।

काठमाडौं । नेपाल वायुसेवा निगमको विमान मर्मतसम्बन्धी टेन्डरमा परेको उजुरीमा छलफल गर्न सार्वजनिक लेखा समितिले सोमबार सञ्चालक समितिलाई बैठकमा ढाकेको थियो । फागुन १० गते निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई समितिमा बोलाएर जानकारी मागेको समितिले सञ्चालक समितिसँग पनि त्यस विषयमा बुझ्नका लागि बोलाएको थियो ।

तर, समितिका सबै सदस्यले कार्यकारी अध्यक्षले गरेका निर्णय आफूहरुलाई थाहा नभएको जवाफ दिएका थिए । समितिका सदस्यहरुको जवाफ सुनेपछि सांसद हृदयश त्रिपाठीले सोधे, ‘तपाईंहरु सन्तुष्ट र आन्दित त हुनुहुन्छ नि ?’ उनको प्रश्न सुनेपछि सञ्चालकहरु मुखामुख गरेका थिए ।

समितिको बैठकमा बोल्दै निगम सञ्चालक समितिका सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले टेन्डर आह्वान, रद्द तथा पुनः आह्वान भएको विषयमा कुनै जानकारी नभएको बताए । उनले निगमका कार्यकारी अध्यक्षले यस विषयमा कुनै जानकारी नगराएको र समितिमा छलफल पनि नगरेको गुनासो गरेका छन् ।

यस्तै सदस्यहरु मुक्तिराम पाण्डे, निमानुरु शेर्पा र अच्युतराज पहाडीले पनि सहसचिव लामिछानेले जस्तै गुनासो गरेका छन् । उनीहरुले जहाज मर्मतसम्भारका लागि टेन्डर आह्वान गर्न २०७४ माघ १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृति दिएको बताएका छन् । त्यसपछि टेन्डर आह्वान भए÷नभएको र टेन्डर रद्द गरी पुनः आह्वान गरेको विषयमा केही जानकारी नदिएको बताएका छन् । उनीहरुले टेन्डर के कारणले रद्द भयो भन्ने विषयमा सञ्चालक समितिलाई जानकारी नगराएको भन्दै कार्यकारी अध्यक्षको अधिकार धेरै भएको दुखेसो पोखेका छन् ।

सञ्चालक समितिको भनाइपछि सांसद डाक्टर मिनेन्द्र रिजालले निगमको सञ्चालक समितिमा बसेर त्यहाँका गतिविधिबारे जानकारी छैन भनेर संसदलाई भन्नु गैरजिम्मेवार भएको बताएका छन् । उनले गैरजिम्मेवारीपूर्वक जवाफ दिएर पन्छिन खोज्नु गलत भएको बताए ।

अर्का सांसद सूर्य पाठकले समितिका सदस्यहरुले समितिमा गैरजिम्मेवार जवाफ दिएको भन्दै सञ्चालक समितिमा बसिरहन उचित नभएको बताए । ‘कार्यकारी अध्यक्षले सञ्चालक समितिको कुरा मान्दैनन् भने तपाईंहरु किन पदमा बसिरहनु भएको छ ?, पाठकले भने, यहाँ आउँदा जिम्मेवार भएर आउनुहोस् ।’