चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्नुपर्ने माग

दुग्ध तथा मासुजन्य उत्पादनमा देश आत्मनिर्भर हुँदै गइरहेको अवस्थामा कृषिका सबै क्षेत्रमा वैदेशिक लगानी भित्रँदा स्वदेशी लगानीमा स्थापित कृषिजन्य उत्पादन विस्थापन हुनजाने खतरा पनि अध्यक्ष अधिकारीले औंल्याए ।

काठमाडौं । केन्द्रीय पशुपन्छी पालन सहकारी सङ्घ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नु पर्ने माग गरेको छ ।

सङ्घले चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गराउनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष बाबुराम अधिकारीले प्रदेश सरकारले चीनका कम्पनीसँग गरेको सम्झौता कार्यान्वयनमा आएमा नेपालका दुई हजारभन्दा बढी सहकारीमा आबद्ध ५ लाख किसान विस्थापित हुने बताएका छन् । उनले भने, ‘प्रदेश सरकारले चीनका विभिन्न कम्पनीसँग गरेको सम्झौता कार्यान्वयन भयो भने नेपालका किसान ठूलो मारमा पर्छन् । यहाँ बेरोजगारी सिर्जना हुने अवस्था आउँछ । यसतर्फ राज्यले विशेष ध्यान दिन जरुरी छ ।’

दुग्ध तथा मासुजन्य उत्पादनमा देश आत्मनिर्भर हुँदै गइरहेको अवस्थामा कृषिका सबै क्षेत्रमा वैदेशिक लगानी भित्रँदा स्वदेशी लगानीमा स्थापित कृषिजन्य उत्पादन विस्थापन हुनजाने खतरा पनि अध्यक्ष अधिकारीले औंल्याए । उनले भने, ‘सहकारीमा आबद्ध ५ लाख र बाहिर रहेका ६ लाख गरी ११ लाख किसान विस्थापित हुन सक्छन् ।’

उनले थपे, ‘अहिले पनि बाटोघाटोको राम्रो सुविधा नहुँदा किसानको वार्षिक ७ लाख मेट्रिक टन दूध खेर गइरहेको छ ।’

नेपालका उन्नत नश्लका बाच्छीहरु स्वदेशमै संरक्षण तथा व्यवस्थापन हुन नसकी अहिले भारततर्फ पलायन भइरहेको अधिकारीले सुनाए । उनले भने, ‘यसतर्फ पनि राज्यले ध्यान दिनुपर्छ ।’

जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै मन्त्रिपरिषदबाट पारित भई संसदमा निर्णयार्थ पेश भएको कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विधेयक र नेपाल सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडाको तहबाट मन्त्रीस्तरीय निर्णय गरी प्रदेश २, ३ र गण्डकी प्रदेशलाई चीनबाट गाई आयात गर्न सहमति दिइएको र सोही आधारमा प्रदेश २, ३ र गण्डकी सरकारले चीनबाट गाई ल्याउन गरेको सम्झौताप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

नेपालमा पशुजन्य उत्पादनको आपूर्ति हालसम्म पनि निर्वाहमुखी किसानहरुबाटै हुँदै आएको सङ्घले जनाएको छ । सङ्घका अनुसार नेपालमा पछिल्लो तथ्याङ्कअनुसार दुधालु गाईको सङ्ख्या १२ लाख रहेको र करिब ४ लाख गाई उन्नत नश्ल सुधार गरिएको छ ।

त्यसैगरी दुधालु भैंसीको सङ्ख्या १० लाख रहेको सङ्घले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यिनै गाईभैसींबाट वार्षिक २० लाख मेट्रिक टन दूध उत्पादन हुने गरेको र सोमध्ये ५ लाख मेट्रिक टन औपचारिक बजारमा आउने गरेको छ । ८ लाख मेट्रिक टन दूध खुला बजारमा किसानले उपभोक्ताहरुको घरघरमै गएर बिक्री गर्ने गरेको र ७ लाख मेट्रिक टन दूध अहिले पनि बजारको पहुँचभन्दा बाहिर रहेको छ । यसो हुनुमा भौतिक पूर्वाधार अभाव प्रमुख कारण हो । ग्रामीण तहमा पूर्वाधारको विकास गर्ने हो भने बजार पहुँचभन्दा बाहिरको ७ लाख मेट्रिक टन दूधलाई बजारसँग जोड्न सकिन्छ र यसको परिणामस्वरुप ग्रामीण अर्थतन्त्रको विकास निश्चित छ ।’

चिनियाँ गाई आयातसम्बन्धी सम्झौता तत्काल खारेज गरी कृषि तथा पशुपालन क्षेत्रमा विदेशी लगानी रोक्न कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विधेयक तत्काल फिर्ता लिन सङ्घले सरकारसँग माग गरेको छ ।