प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र आतंक मच्चाउने माओवादीको विप्लव समूहलाई कानुनबमोजिम नियन्त्रणमा लिने बताएका छन् । हिंसा र बिस्फोट गर्दै हिड्नेसँग सरकारले वार्ता नगर्ने पनि उनले बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका अध्यक्ष रोहन गुरुङको वनस्थलीस्थित घरमा विप्लव समुहले गराएको बम विस्फोटको बारे जानकारी गराउँदैं ज्ञापन पत्र बुझाएपछि संघको टोलीसँग प्रधानमन्त्रीले विप्लव समूहसँग वार्ता नहुने बताएका हुन् ।
‘पैसा उठाउन बम पड्काउनेसँग केका लागि वार्ता गर्ने ? उनीहरुले गरेको क्रियाकलाप राजनीतिक क्रियाकलाप होइन त्यसैले वार्ता हुन सक्दैन, प्रधानमन्त्रीले भने,’ जहाँ पैसा छ भन्ने लाग्छ त्यहीं बम हान्नेहरुसँग कानुन बमोजिमको कारवाही हुन्छ, ।
प्रधानमन्त्री ओलीले एक गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको समेत बताए । ‘कम्युनिष्टले त युवाहरुलाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो’, प्रधानमन्त्री ओलीले भने, ‘यहाँ त कम्युनिष्टको नाममा यूवालाई लुट्न सिकाइरहेका छन, उनले भने ।
प्रधानमन्त्री ओलीले संघका अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गर्दै घटनाको सरकारले छानबिन गरिरहेको बताए ।
घटनापछि संघले दिलप्रसाद पोखरेलेको संयोजकत्वमा घटना समन्वय समिति बनाएर सरकारको ध्यानकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा व्यवसाय र व्यवसायीको सुरक्षा गराउन, अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको क्षतिको सरकारले क्षतिपूर्ति उपलब्ध गराउन र बम विस्फोट गराउने समूहलाई कडा भन्दा कडा कारवाही गराउन माग गरिएको छ ।