no-image

मङ्गलबार सेयर बजार २० अङ्क बढेर नेप्से परिसूचक १ हजार १६३ अङ्कमा पुगेको थियो । यो साता सोमबार र मङ्गलबार गरी दुई दिन ३४ अङ्कले बजार बढेको थियो ।

काठमाडौं । लगातार बढिरहेको सेयर बजार बुधबार रोकिएको छ । बजार १३ अङ्क घटेर नेप्से परिसूचक १ हजार १५० मा सीमित भएको छ । ब्याजदर घटाउन उद्योगी र बैङ्करबीच सहमति भएपछि मङगलबार सेयर बजार उकालो लागेको थियो । मङ्गलबार सेयर बजार २० अङ्क बढेर नेप्से परिसूचक १ हजार १६३ अङ्कमा पुगेको थियो । यो साता सोमबार र मङ्गलबार गरी दुई दिन ३४ अङ्कले बजार बढेको थियो ।

अन्तिम समयमा आएर सेयर किन्ने लगानीकर्ताले नाफा बुक गर्दा बजार घटेको नेसनल मर्चेन्ट बैङ्करका प्रबन्ध निर्देशक नविन बाँस्कोटा बताउँछन् । उनले यसबाट लगानीकर्ताको बजारमा अझै विश्वास नबढेको देखिएको विचार व्यक्त गरे । क्यापिटल नेपालसँग कुरा गर्दै उनले अन्तिम समयमा आएर सेयर किनेका लगानीकर्ताले गर्दा यसको असर बजारमा परेको जानकारी दिए । सेयर बजारमा स्थायी बृद्धिको आधार तयार भइनसकेको बाँस्कोटाको विश्लेषण छ ।

बुधबार वित्तबाहेक बैङ्क, होटल, जलविद्युत् लगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ । बजार घटे पनि बुधबार ३६ करोड ९४ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर किनबेच भएको छ । कोषको प्रतिकित्ता २ हजार ६२५ रुपैयाँमा १ करोड ९६ लाख १८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

सेयर बजार घट्दा युनाइटेड फाइनान्स लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।