उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

फ्रान्सेली गैरसरकारी संस्था प्रिमियर अर्जेन्स इन्टरनेसनललाई बाल पोषण परियोजना र ट्राङ्गल जेनेरेसन ह्युमानिटायरलाई बृद्धबृद्धाको स्याहार परियोजना सञ्चालन गर्न अनुमति प्राप्त भएको छ । राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले आपतकालीन प्रजनन स्वास्थ्य सामग्रीको आपूर्ति गर्नेछ । 

सियोल । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण र औषधोपचार समेतका पाँच क्षेत्रमा लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गरेको हो ।

फ्रान्सेली गैरसरकारी संस्था प्रिमियर अर्जेन्स इन्टरनेसनललाई बाल पोषण परियोजना र ट्राङ्गल जेनेरेसन ह्युमानिटायरलाई बृद्धबृद्धाको स्याहार परियोजना सञ्चालन गर्न अनुमति प्राप्त भएको छ । राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले आपतकालीन प्रजनन स्वास्थ्य सामग्रीको आपूर्ति गर्नेछ ।

यसैगरी, क्यानाडेली गैसस फर्स्ट स्टेप्स हेल्थ सोसाइटीलाई सोया दूध प्रशोधन प्रणाली आयात गर्न तथा मेडिसिन सान्स फ्रन्टियर्सलाई चिकित्सा सामग्री भित्र्याउन अनुमति दिइएको छ ।

पछिल्लो सहजीकरणसँगै उत्तर कोरियामाथि मानवीय सहायता जोडिएका प्रतिबन्ध फुकुवा भएको सङ्ख्या २० पुगेको छ । यी छुटहरु छ महिनाका लागि मान्य हुने राष्ट्रसङ्घले जनाएको छ ।

मानवीय सहायता कृयाकलापहरु अन्तर्राष्ट्रिय प्रतिबन्धअन्तर्गत रहेका छैनन्, तर यससँग सम्बन्धित सामग्रीको आपूर्तिका लागि राष्ट्रसङ्घ सुरक्षा परिषदको स्वीकृति अनिवार्य हुन्छ ।रासस/योनहाप