पक्राउ परेका विप्लव कार्यकर्ता भन्छन्— बरु गोली हान्नुस्, मुख खोल्दैनौं

ललितपुरको नख्खुस्थित एनसेल मुल्यालय, वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोटलगायत घटनामा समातिएका विप्लवका कार्यकर्ताले एउटै बोली बोलिरहेका छन्— बरु गोली हान्नुस्, मुख खोल्दैनौं ।

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले पक्राउ परेको अवस्थामा आफ्नो समूहका नेता–कार्यकर्तालाई प्रहरीसँग के भन्ने र कस्तो व्यवहार देखाउने भन्नेबारे तालिम दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ललितपुरको नख्खुस्थित एनसेल मुल्यालय, वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोटलगायत घटनामा समातिएका विप्लवका कार्यकर्ताले एउटै बोली बोलिरहेका छन्— बरु गोली हान्नुस्, मुख खोल्दैनौं ।

रोहन गुरुङको घरमा बम हान्ने र एससेल कार्यालयमा बम राखेको आशङ्कामा पक्राउ परेकाहरुले प्रहरीमा बयानै फरक दिएको खुलेको छ । एनसेल बमकाण्डमा पक्राउ परेका विप्लवका पूर्वबडिगार्ड त्यो दिन सोही क्षेत्रमा सक्रिय रहेको टेलिफोन लोकेसनबाट देखिए पनि उनले प्रहरीलाई घटना हुने दिन आफू भक्तपुरमा रहेको भन्दै झुट बोलेको स्रोतले जानकारी दियो ।

त्यसैगरी रोहन गुरुङको घरमा बम राखेको आशङ्कामा पक्राउ परेकाहरुले पनि त्यसैगरी प्रहरीलाई झुट बोलेको पाइएको छ । ‘हामीले त्यसै पक्राउ गरेका होइनौं,’ घटनाको अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘घटनामा उनीहरुको संलग्नता रहेको प्रमाण छ । तर पनि उनीहरु त्यो कुरा होइन भन्छन् । लोकेसन एकातिर हुन्छ, आफूहरु एकातिर रहेको दाबी गर्छन्, धेरै बोल्दैनन् ।’

प्रहरीले नख्खु घटनायता उपत्यकालगायत देशभरबाट ७० जना विप्लवका नेता–कार्यकर्तालाई समातिसकेको छ । उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।