अध्यक्ष प्रचण्डले भने, ‘हिजोका दिनमा आफूसँगै सहयकार्य गरेका र आफ्नै सचिवालयमा बसेकाहरुले नै मलाई मार्ने षड्यन्त्र गरेको माइन्युटसमेत गरेको मलाई सूचना आयको छ ।’
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मार्नेहरुको लिस्टमा आफ्नो नाम पहिलो नम्बरमा राखेको बताएका छन् । पेरिसडाँडामा बिहीबार आयोजित ‘सहिद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रमा अध्यक्ष प्रचण्डले ‘विप्लव’ समूहले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर दस्ताबेज भेटिनु आफ्नो लागि दुःखद पक्ष भएको बताए ।
अध्यक्ष दाहालले भने, ‘हिजोका दिनमा आफूसँगै सहयकार्य गरेका र आफ्नै सचिवालयमा बसेकाहरुले नै मलाई मार्ने षड्यन्त्र गरेको माइनुटसमेत गरेको मलाई सूचना आयको छ ।’ उनले आफ्नो नक्कल गरेर हिँडेको भन्दै नक्कल गरेर २०५२ साल नफर्किने र प्रचण्ड बन्न सजिलो नहुने बताए । ‘कसैले चाहेर प्रचण्ड बन्ने होइन, म आफै पनि प्रचण्ड बन्छु भनेर हिँडेको पनि होइन । तर, मलाई हिँड्दाहिँड्दै जनताले प्रचण्ड बनाई दिए ।’ उनले भने ।