पन्ध्र सयलाई स्वरोजगार तालिम

राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत १९ विधामा छोटो अवधिको तालिम यस वर्ष सुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिए । 

तुलसीपुर । नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालिम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत १९ विधामा छोटो अवधिको तालिम यस वर्ष सुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिए ।

नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन सुरु गरिएको चौधरीको भनाइ छ । “नेपाल सरकारले देशभरि ४२ हजारलाई तालिम दिने योजना ल्याएको थियो, त्यसमा पनि यस वर्ष प्रदेश ५ अन्तर्गत दाङमा पन्ध्र सयलाई स्वरोजगारमूलक विभिन्न तालिम सुरु गरेका छौँ”, उनले भने ।

प्राविधिक शिक्षालयले ब्युटिसियन, सिलाइकटाइ, पेन्टर, प्लम्बर, जुनियर मेकानिक्स, अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने) लगायतका १९ वटा तालिम यस वर्ष सञ्चालन गरेको बताएको छ । त्यस्तै लमहीमा शनिबारदेखि ६५ दिने अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने )तालिम सुरु भएको छ ।

बीस जना सहभागी रहेको तालिमको प्रशिक्षकमा दृष्टि विशेषज्ञ मदन चौधरी र प्रकाश चौधरी रहेको राप्ती प्राविधिक शिक्षालयका तालिम संयोजक कुलराज चौधरीले जानकारी दिए। रासस