उनले अबको पाँच वर्षमा पर्वतका सबैजसो बाटाहरु कालोपत्र हुने, घरघरमा खानेपानीका धारा पुग्नेलगायत आधारभूत आवश्यकता पूर्ति भएको जिल्लाका रुपमा विकास हुने बताए ।
पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह गरेका छन् । गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले विभिन्न योजनाहरुको अनुगमन गर्दै जिल्लामा सञ्चालित भौतिक पूर्वाधार निर्माणका योजनाहरु समयमै तोकिएको मापदण्ड र गुणस्तरमा सम्पन्न गर्न निर्देशन दिनुएका हुन् ।
अबका दिनहरु मुलुकको आर्थिक समृद्धि र विकास निर्माण गर्ने भएकाले चालू योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न र सुरु हुन नसकेका योजनाहरुलाई तत्काल सुरु गर्न सरोकारवालालाई आग्रह गरे । उनले साना योजनाहरु स्थानीय सरकारबाट, मध्यम खालका प्रदेश सरकारबाट र ठूला योजनाहरु सङ्घीय सरकारले हेर्ने भएकाले तीनै तहको समन्वय र सहकार्यबाट जिल्लाको समग्र विकासलाई गति दिनुपर्ने पनि बताए ।
अहिलेको सरकार विगतमा जस्तो परिवर्तनशील नभएर स्थायी भएकाले पनि अबको पाँच वर्षमा मुलुकको तीव्र रुपमा विकास हुनेमा कुनै आशङ्का व्यक्त नगर्न पनि उनले सबैलाई आग्रह गरे । उनले अबको पाँच वर्षमा पर्वतका सबैजसो बाटाहरु कालोपत्र हुने, घरघरमा खानेपानीका धारा पुग्नेलगायत आधारभूत आवश्यकता पूर्ति भएको जिल्लाका रुपमा विकास हुने बताए ।
अध्यक्ष तिमिल्सिनाले गण्डकी प्रदेशकै नमूना सडक आयोजना कुश्मा–मोदीवेणी सडक, कालीगण्डकी लोकमार्गअन्तर्गत मोदीखोलामा निर्माणाधीन मोटरेबल पुल र कुश्मामा निर्माणाधीन अत्याधुनिक सेवा सुविधासहितको अस्पताल भवनको निरीक्षण गरेका हुन्। सडकका बारेमा निर्माण समितिका अध्यक्ष मेघनाथ सुवेदी र अस्पतालका बारेमा अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी गराएका थिए।