मुकेशले अनिललाई जेल सजायबाट बचाएपछि आरकमको सेयरमा उछाल

आरकमको सेयर दस प्रतिशतले बढेर ४.४० रुपैयाँमा पुगेर नेशनल स्टक एक्सचेन्जको अपर सर्किटमा लक्ड भएको छ ।

एजेन्सी । दाजु मुकेश अम्बानीले इरिक्सन कम्पनीको बक्यौता मुद्दामा बेल दिएपछि भाइ अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन कम्पनी आरकमको मंगलबार बिहान सेयर मूल्यमा ठूलो वृद्धि भएको छ । आरकमको सेयर दस प्रतिशतले बढेर ४.४० रुपैयाँमा पुगेर नेशनल स्टक एक्सचेन्जको अपर सर्किटमा लक्ड भएको छ ।

अनिल अम्बानीले वक्तव्य जारी गर्दै भनेका छन्, ‘मेराे अप्ठ्यारो समयमा मलाई साथ दिएर हामी बलियो पारिवारिक मान्यताप्रति अडिग रहनुपर्ने महत्त्वलाई प्रदर्शन गरेकोमा मेरो आदरणीय दाजु मुकेश र नीताप्रति म हार्दिक धन्यवाद टक्राउन चाहन्छु । म र मेरो परिवार कृतज्ञ छौं, हामी विगतभन्दा अगाडि गैसकेका छौं र यो कदमले मलाई गहिरो रुपमा छोएको छ ।’

साथै अनिलले वक्तव्यमा रिलायन्स कम्युनिकेसनले सर्वोच्चको अदेशप्रति बफादार रहँदै इरिक्सनलाई ५५० करोड रकम र ब्याज पनि भुक्तान गरेको लेखेका छन् । देशको सर्वोच्च अदालतको आदेशअनुसार १९ मार्च २०१९ सम्म स्वीडिश कम्पनी इरिक्सनलाई अनिल अम्बानीको कम्पनी आरकमले बक्यौता भुक्तान गर्न नसकेको खण्डमा तीन महिनासम्मको सम्भावित जेल सजाय भुक्तान गर्नुपर्ने थियो ।

भर्खरै आरकमले मुकेश अम्बानीको रिलायन्स जियो इन्फोकमलाई आफ्नो टेलिकम एसेट बेच्ने निर्णयलाई रद्द गरेको थियो । यसका लागि उसले ऋणदाता र सरकारबाट अनुमोदन पाउन नसकेको उद्धृत गरेको थियो ।