जापानमा रोजगारीः कोरियन मोडलमै कामदार लैजान मार्चभित्रै सम्झौता हुने

कामदार पठाउने प्रक्रियामा सम्झौता भएलगत्तै नेपालले मिति तोक्ने र जापानी टोली नेपाल आएर श्रम सम्झौता गर्ने छन् । उनीहरु नेपालले तोकेको समयमा आउन तयार रहेको बताइएको छ ।

काठमाडौं । जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने भएको छ । श्रम मन्त्रालयका उच्च श्रोतका अनुसार सरकार मार्फत नै कामदार लैजान जापान तयार भएको हो । अप्रिलदेखि वर्किङ्ग भिसामा कामदार लैजाने तयारी गरेको जापानसँग यही साताभित्र सहमति हुने र मार्चभित्रै सम्झौता हुने जनाएको छ ।

कामदार पठाउने प्रक्रियामा सम्झौता भएलगत्तै नेपालले मिति तोक्ने र जापानी टोली नेपाल आएर श्रम सम्झौता गर्ने जनाएका छन् । उनीहरु नेपालले तोकेको समयमा आउन तयार रहेको बताइएको छ । गत माघ २ गते नेपाल र जापानका प्राविधिक टोलीबीच कामदार पठाउने प्रक्रिया टुङ्ग्याउन भएको छलफलमा नेपालले सरकार मार्फत कामदार पठाउने प्रस्ताव राखेको थियो । नेपालको प्रस्तावको विषयमा जापानका प्रतिनिधिहरुले त्यहाँका सम्बन्धित निकायहरुसँग छलफल गरेर मात्र निर्णयमा पुग्ने जवाफ दिएको थियो ।

नेपालले भन्याे- सरकारमार्फत कामदार पठाऊँ

श्रम मन्त्रालयले कामदार ठग्न नदिनका लागि सरकार मार्फत नै कामदार पठाउने प्रस्ताव राखेको जनाएको छ । जापानमा पुगेपछि कामदार नठगिए पनि विभिन्न कम्पनीमार्फत कामदार पठाउँदा नेपालमै ठगिने डर भएको श्रम मन्त्रालयका अधिकारीहरुको भनाइ छ । त्यसको लागि हाल कोरियामा कामदार पठाएकै मोडलबाट पठाउने श्रम मन्त्रालयले तयारी गरेको थियो । कोरियामा हालसम्म गएका नेपालीहरु ठगीएको समचारहरु सार्वजनिक भएका छैनन् ।

नेपालले जापान जान धेरै आर्थिक भार पार्न नहुने, कामदारको स्वास्थ्य, सुरक्षाको ग्यारेन्टी, अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुसार सेवासुविधा पाउनुपर्नेलगायत प्रस्ताव राखेको छ । जापानले विदेशी कामदार लैजान ‘ब्लू कलर’ कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ । जसमा निर्माणसहित १४ किसिमका उद्योगलाई पहिलो श्रेणीमा राखिएको छ  । नयाँ भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ  । दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यवसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।

पाँच वर्षका निम्ति ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेको जनाइएको छ । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने भएकाले पहिलो चरणमा सबै देशमा छलफल अगाडि बढाएको छ । पछिल्लो समय जापानमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या धेरै रहेको छ । राम्रो आम्दानी हुने भएकै कारण विद्यार्थीहरु अध्ययनका लागि भन्दै चर्को शुल्क तिरेर जापान जाने गरेका छन् । अध्ययनका लागि विद्यार्थीहरुले १३ देखी १५ लाख रुपैयासम्म तिर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस् ।

जापानको रोजगारी : जवाफ पर्खिंदै श्रम मन्त्रालय