सन् २०२० का लागि कोरियन भाषा परीक्षाको आवेदन फारम भोलि शुक्रबारदेखि चैत १७ गतेसम्म भर्न सकिने छ ।
काठमाडौं । सन् २०२० का लागि कोरियन भाषा परीक्षाको आवेदन फारम भोलि शुक्रबारदेखि खुल्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत भाषा परीक्षाको आवेदन फारम चैत १७ गतेसम्म भर्न सकिने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेकाहरुले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्ने व्यवस्था भएको वैदेशिक रोजगार विभाग अन्तरगत ईपीएस नेपाल शाखले जनाएको छ ।
भाषा परीक्षा आवेदनका लागि बैङ्कमा लाइन नबसी पनि ‘आईएमई’ र ‘ई’ सेवाबाट पनि पैसा भुक्तानी गर्न सकिने र आफै अनलाईन मार्फत फारम भर्न सकिने ईपीएसले जनाएको छ । भुक्तानी गर्नु पर्ने रकम भने २४ डलर छ ।
आवेदन फारमका लागि रकम जम्मा गरेको कोड राखेपछि अनलाईन फारम भरेर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सहित ‘सब्मिट’ गरेर अनलाईन फारम भर्न सकिने छ । आवेदन फारम भर्दा आफूलाई जुन क्षेत्रमा जाने इच्छा हो त्यही क्षेत्रको छनौट गर्नु पर्ने छ । भाषा परीक्षामा उत्तीर्ण भएपछि पनि त्यही क्षेत्रमा मात्रै रोजगार आवेदन फारम भर्नुपर्ने छ । उत्पादनमुलक क्षेत्रमा फारम भर्नेले तीन उपक्षेत्र र कृषितर्फ फारम भर्नेहरुले दुई उपक्षेत्र छनौट गर्नु पर्ने छ ।
आफैं अनलाइनमार्फत फारम भर्न चाहनेले eoers.epsnepal.gov.np लग अन गरी फारम भर्न सक्नुहुने छ । फारम भरिसकेपछि आफूले दिइएको इमेल ठेगानामा प्रवेशपत्र आउनेछ । जुन प्रवेशपत्रलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्दछ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि सँगै बोक्नु पर्दछ ।
पछिल्लो समयमा दक्षिण कोरियालाई रोजगारीका लागि आकर्षक गन्तव्यका रुपमा लिइन्छ । कोरियाले नेपलबाट सन् २००८ देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान लागेको हो । कोरियाले यो वर्ष नेपालबाट १० हजार ५० जना नेपाली कामदार लैजाने गरी कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी गरेको ईपीएसले जनाएको छ ।