रासायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यु

विस्फोट निकै शक्तिशाली भएको र आगलागी सुरु भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ ।

नानजिङ् । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । विस्फोटमा घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्ये ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार जानकारी दिएको छ ।

चीनमा केही वर्षमा यता भएका घातक औद्योगिक दुर्घटना मध्येको यो पनि एक भएको बताइएको छ । आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे याङ्चेङमा अवस्थित सो उद्योगमा विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट कारखानाको भवनहरूको भत्किँदा कामदारहरू घाइते भएका थिए ।

विस्फोट निकै शक्तिशाली भएको र आगलागी सुरु भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ । चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहने पाइन्छ । गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

गत वर्ष नै जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो। हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै १,००० घाइते भएका थिए। बिहीवारको दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/योनहाप