जेटमा बोइङ विमान चलाएका पाइलटलाई इन्डिगोको ए ३२९ एस विमान सञ्चालन गर्न ६ महिनासम्मको प्रशिक्षण दिने बताइएको छ ।
एजेन्सी । भारतको ठूलो एयरलाइन्स कम्पनी जेट एयरवेज आर्थिक संकटमा फसेपछि उसका सयभन्दा धेरै पाइलटहरुलाई इन्डिगो एयरलाइन्सले राख्ने भएको छ । इन्डिगोले जेटको बोइङ ७३७ को कमाण्डर लेभलका पाइलटहरुलाई राख्ने जानकारी दिएको छ ।
इन्डिगोको एकजना शीर्ष स्रोतकाअनुसार इन्डिगोले जेटका पाइलटलाई छ महिनाभित्र काममा राख्नेछ । जेटमा बोइङ विमान चलाएका पाइलटलाई इन्डिगोको ए ३२९ एस विमान सञ्चालन गर्न ६ महिनासम्मको प्रशिक्षण दिने बताइएको छ । यस बाहेक इन्डिगोले पहिलेबाट नै विश्वभरीका १३० जना विदेशी पाइलटहरुलाई आफ्नो एयरलाइन्समा राखिसकेको छ ।
बजार सेयरको आधारमा भारतको सबैभन्दा ठूलो एयरलाइन्स रहेको इन्डिगोले कमाण्डर लेभलका पाइलटको अभावका कारण दैनिक आफ्ना ३० वटा उडानलाई रद्द गर्दै आइरहेको छ । इन्डिगोको दुई सयभन्दामाथि विमान रहेको छ भने तीन हजारभन्दा बढी पाइलटहरु रहेका छन् । उसको १२ सय कमाण्डरमध्ये ५० जना विदेशी रहेका छन् । यसले दैनिक १३ सय उडान सञ्चालन गर्दै आएको छ ।