बचेको रकम क्याम्पसलाई

बलेवा ।  बागलुङ जिल्लामै पहिलोपटक शैक्षिक उन्नयनका लागि सञ्चालन भएको प्रथम बलेवा महोत्सवको आम्दानी खर्च सार्वजनिक भएको छ ।

महोत्सव सम्पन्न भएको एक महीनापछि आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बलेवाले आम्दानी खर्चको विवरण सार्वजनिक गरेको हो । गत फागुन २ गते देखि १२ गतेसम्म सञ्चालन भएको महोत्सवमा झण्डै रु डेढ करोड आम्दानी भएको आयोजकले जनाएको छ ।

महोत्सवको अवसर पारेर कृष्ण गण्डकी क्याम्पस बलेवामा एक करोडको अक्षयकोष स्थापना गर्न चलाइएको सहयोग अभियान र अन्य क्रियाकलापबाट रु एक करोड ४७ लाख ५० हजार २१६ आम्दानी भएको मूल आयोजक समितिका संयोजक भरत पौडेलले जानकारी दिए।

महोत्सवमा रु १३ लाख ८२ हजार १५९ खर्च भएको छ । महोत्सवको व्यवस्थापन, अतिथि सत्कार, प्रचारप्रसार लगायतका शीर्षकमा खर्च भएको कोषाध्यक्ष स्वर्गेन्द्रबहादुर खत्रीले जानकारी दिए।

खर्च कटाएर बचेको रु एक करोड ३३ लाख ६८ हजार ५७ कृष्णगण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि अक्षयकोषमा राखिने अध्यक्ष पौडेलले बताए

सहयोगी दाताको नाम, रकम र ठेगानासहितको विवरण तथा खर्चका शीर्षक तथा रकमसहितको विवरण नगरपालिकाका बलेवा क्षेत्रमा पर्ने चारवटै वडाका सार्वजनिकस्थलमा टाँसिने आयोजकले जनाएको छ।

सामाजिक सञ्जाल, सञ्चारमाध्यम र सार्वजनिकस्थलमा विवरण टाँस गरेर आर्थिक पारदर्शिता अपनाइने अध्यक्ष पौडेलले बताए। बचेको रकम एक कार्यक्रमको आयोजना गरी क्याम्पसलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।