वीर अस्पताल स्रोतकाअनुसार यादवले वीर अस्पतालमा उपचार गर्न आएकी एक महिलामाथि यौन दुर्व्यबहार गरेपछि अस्पताल प्रशासनले सेवाबाट निकालेको थियो ।
काठमाडौं । पूर्वन्यायधीश, गृहसचिवदेखि पत्रकारको भेषमा सयौं युवायुवतीलाई क्यानडा पठाइदिने भन्दै ठगी गर्ने रौतहटका सत्येन्द्रप्रसाद यादवले उपचारका लागि अस्पताल आएकी महिलामाथि यौन दुर्व्यबहार गरेकै कारण उनलाई वीर अस्पतालले निकालेको खुलेको छ । वीर अस्पताल स्रोतकाअनुसार यादवले वीर अस्पतालमा उपचार गर्न आएकी एक महिलामाथि यौन दुर्व्यबहार गरेपछि अस्पताल प्रशासनले सेवाबाट निकालेको थियो ।
‘यादव रेडियोसीयन हुन्, एक दिन एक्सरे गर्न एक बिरामी महिला एक्सेरे गर्न गएका बेला यौन दुर्व्यबहार गरेपछि उनलाई निकालिएको हो ।’ वीर अस्पतालस्रोतले क्यापीटल नेपालसँग भन्यो । वीर अस्पतालबाट निकालिएपछि यादवले आफू पूर्वन्यायाधीश, गृहसचिव र सरकारी वकिल हुँ भन्दै विभिन्न ब्याक्तिलाई ठगी गरे । त्यसपछि प्रहरीले पक्राउ गर्यो, २ वर्ष जेल बसेर धरौटीमा निस्केका यादवले फेरी पुरानै धन्दा सुरु गरे ।
२०७१ सालमा जेलबाट छुटेका यादवले सय जनाभन्दा बढीलाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘यादवले गठी गरेका पीडितहरु आउने क्रम जारी छ ।’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले भने, ‘अहिलेसम्म ३० जनाको उजुरी परेको छ । बाँकी आउने क्रम जारी छ ।’
उनका अनुसार यादवले क्यानडा पठाइदिने भन्दै ठगी गरेका एक युवतीलाई जबरजस्ती करणीसमेत गरेको उजुरी परेको छ ।
भूकम्प कोटामा क्यानडा पठाइदिने भन्दै रकम लिएपछि युवतीलाई जवरजस्ती करणी गरेको र अरुलाई भनेमा क्यानडाको भिसा रद्द गरिदिने धम्की दिने गरेको पीडित युवतीको उजुरीमा छ ।
यादवले पैसावाल र बिदेश जाने मनसाय भएको ब्याक्ति खोज्ने र उनीहरुलाई आफू गृहमन्त्रालयको सहसचिव भएको सरकारी कोटामा क्यानडा पठाइदिने भन्दै मोटो रकम लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैगरी यादवले अदालतमा मुद्दा धाउँदै गरेका पीडितलाई पनि ठगी गरेको खुलेको छ । पीडितलाई आफू पूर्वन्यायाधीश रहेको भन्दै आफ्ना साथीहरु न्यायधीश छन्, उनीहरुलाई भनेर मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विभिन्न आवरणमा ठगी गर्ने यादवले अस्पतालबाट निकालिएपछि समय सारथी भन्ने साप्ताहिकको पत्रकार भन्दै ठगी गरेकोसमेत खुलेको छ । यादवलाई प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।