बममाथि सुतेर वार्ताको कल्पना गरिन्नः सञ्चारमन्त्री बाँस्कोटा

उनले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई लक्ष्य गर्दै बम र बन्दूक त्यागेर आएमा सरकार वार्ता गर्न तयार रहेको उल्लेख गरे ।

काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताएका छन् । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ समूहको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन खोज्दा बन्द गर्न खोज्यो भनिएको गुनासो गर्दै एक पटक दर्ता गरेपछि निरन्तर नभए पनि त्यो पत्रिका रहिरहने स्थितिमा समीक्षा गर्न आग्रह गरे ।

आफ्ना मनको कुरा भन्न डराउने अनि नभएका कुरा लेखेर हल्ला मच्चाउने स्वतन्त्र प्रेस हुन नसक्ने जिकिर गर्दै उनले सञ्चारले समाजलाई कता जानेभन्दा लाने भन्ने तागत राख्ने भए पनि मिडियाले मर्यादा गुमाएमा नागरिकले विश्वास नगर्ने बताए । उनले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई लक्ष्य गर्दै बम र बन्दूक त्यागेर आएमा सरकार वार्ता गर्न तयार रहेको उल्लेख गरे । उनले भने, ‘बममाथि सुतेर वार्ताको कल्पना गरिन्न । बम निस्तेज गरेर आउनुस्, बकाइदा वार्ता हुन्छ ।’ रासस