विप्लव समूहले सञ्चालन गरेको आपराधिक तथा विध्वंशात्मक क्रियाकलापका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने व्यक्ति, संस्था तथा समूहलाई कारबाही गर्ने गृहमन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तीमा जनाइएको छ ।
काठमाडौं । सरकारले ‘बिप्लव’ समूहलाई सहयोग गर्ने जोकोहीलाई कारबाही गर्ने भएको छ । विप्लव समूहले सञ्चालन गरेको आपराधिक तथा विध्वंशात्मक क्रियाकलापका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने व्यक्ति, संस्था तथा समूहलाई कारबाही गर्ने गृहमन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तीमा जनाइएको छ । कोही कसैले त्यस्ता समूहलाई आर्थिक र भौतिक तथा जुनसुकै किसिमको सहयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने गृहमन्त्रालयले जनाएको छ ।
विप्लव समूहलाई कुनै किसिमको सहयोग नगर्न एवम् त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने वा धम्की दिने कार्य गरेमा तत्काल नजिकको प्रहरी प्रशासनलाई सूचना दिन पनि गृहमन्त्रालयले अनुरोध गरेको छ ।
‘बिप्लव’ समूहलाई गत फागुन २८ गते बसेको मन्त्रिपरिषद बैठकले कानून विपरित नागरिकको जिउधनमा क्षति पुर्याउने, विकास निर्माण एवम् आन्तरिक वा बाह्य लगानीसमेतलाई हतोत्साही गर्ने गरी बम विस्फोट गर्ने, जबरजस्ती रकम असुली गर्ने, भौतिक पूर्वाधार तथा संरचनामा क्षति पुर्याउनेजस्ता आपराधिक र विध्वंसात्मक क्रियाकलाप गरेकाले नियन्त्रणका लागि भन्दै प्रतिबन्ध लगाएको थियो ।