जापानसँग श्रम सम्झौता : उच्च तहको सीप हुने श्रमिकले परिवार पनि लैजान पाउने

नेपाल र जापानबीच सोमबार भएको श्रम सम्झौतामा नेपाली कामदारहरु लैजाने र उनीहरुको अवधि ५ वर्षको हुने उल्लेख गरिएको छ ।

काठमाडौं । नेपाली विद्यार्थीहरुको आकर्षक गन्तव्यका रुपमा रहेको जापानले अब वर्किङ भिसामा पनि कामदार लैजाने भएको छ । नेपाल र जापानबीच सोमबार भएको श्रम सम्झौतामा नेपाली कामदारहरु लैजाने र उनीहरुको अवधि ५ वर्षको हुने उल्लेख गरिएको छ ।

जापानले कामदारहरुका लागि दुई वर्गमा विभाजन गरेको छ । पहिलो वर्गका श्रमिकहरुका लागि सीप वा सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्ने र त्यस्ता श्रमिकहरु बढीमा ५ वर्षसम्म जापानमा रहन सक्ने प्रावधान छ । यस्तै दोस्रो वर्गका श्रमिकका लागि उच्चतहको सीप आवश्य पर्ने र त्यस्ता श्रमिकहरुको कार्य अवधि थप गर्न सकिने प्रावधान रहेको जनाएको छ । ती वर्गका श्रमिकहरुले परिवारका सदस्यहरुलाई समेत जापान लैजान सक्ने व्यवस्था गरिएको छ ।

यस्तै श्रमिकहरु जुन कार्यक्षेत्रमा गएका हुन्, सोही कार्यक्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिइने व्यवस्था रहेको र त्यसका लागि जापान सरकारले सञ्चालन गरेको सार्वजनिक रोजगार सेवा केन्द्र (हेलो वर्क)ले सहयोग एवम् समन्वय गर्ने उल्लेख छ ।

जापान जान सबै श्रमिकहरुले जापानी पक्षबाट सञ्चालनहुने जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्नेछ । भाषा र सीप परीक्षा सञ्चालन गर्ने संयन्त्र जापानको सम्बन्धित निकायले टुङ्गो लगाउने श्रम मन्त्रालयका सहसचिव रामपसाद घिमिरेले जानकारी दिए ।

अप्रिल १ देखि जापानले १४ ओटा क्षेत्र कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्यपदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा श्रमिक लाने तयारी गरेको छ ।