संस्थापक गोयलको राजीनामापछि सङ्कटग्रस्त जेट एयरवेजले प्राप्त गर्यो २१ करोड डलरको कोष

कर्मचारीको तलब र ग्राउन्ड गरिएका भाडाका विमानको समस्या अस्थायी रुपमा समाधान हुनेछ । एसबीआई बैङ्कका अध्यक्ष रजनीश कुमारले आगामी मे ३१ सम्म नयाँ लगानीकर्ता एयरवेजले प्राप्त गर्ने अपेक्षा गरेको बताएका छन् ।

एजेन्सी । आर्थिक सङ्कटमा फसेको भारतीय जेट एयरवेजलाई स्टेट बैङ्क अफ इन्डिया एसबीआईले २१ करोड ७६ लाख अमेरिकी डलरको कोष प्रदान गरेको छ । एयरवेजका संस्थापक नरेश गोयल र उनकी श्रीमतीले निर्देशक बोर्डबाट राजीनामा दिएपछि एयरवेजले कोष प्राप्त गरेको हो ।

सो कोषले कम्पनीको अल्पकालीन समस्या टर्ने बताइएको छ । कर्मचारीको तलब र ग्राउन्ड गरिएका भाडाका विमानको समस्या अस्थायी रुपमा समाधान हुनेछ । एसबीआई बैङ्कका अध्यक्ष रजनीश कुमारले आगामी मे ३१ सम्म नयाँ लगानीकर्ता एयरवेजले प्राप्त गर्ने अपेक्षा गरेको बताएका छन् ।

बैङ्कर्सहरुले पेस गरेको समाधान योजना अनुमोदन भएसँगै नरेश गोयलको सेयर २५ प्रतिशतमा झरेको र साझेदार इतिहाद कम्पनीको सेयर १२ प्रतिशतमा झरेको एसबीआईका अध्यक्ष रजनीश कुमारले बताए ।