धमाधम समातिँदै विप्लव नेता–कार्यकर्ता

प्रहरीले विप्लव समूहको दोस्रो बरीयताका नेता हेमन्त ओलीसहित १ सय ५० जनाभन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरेको बताएको छ । प्रहरीले गत साता मात्र विप्लव समूहका मध्य ब्युरो कमान्डर एवम् स्थानीय समिति सदस्य हेमन्तप्रकाश ओलीलगायत ९ जनालाई काभ्रेबाट पक्राउ गरेको थियो ।

काठमाडौं । देशभरबाट सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका नेता–कार्यकर्तालाई पक्राउ गर्न प्रहरी अप्रेसनलाई तीव्र पारेको छ । चन्दा नदिएको झोकमा विप्लव समूहले एनसेल र वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोटलगायत देशैभर आतङ्क मच्चाउन थालेपछि सरकारले केही समयअघि समूहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

प्रहरीले विप्लव समूहको दोस्रो बरीयताका नेता हेमन्त ओलीसहित १ सय ५० जनाभन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरेको बताएको छ । प्रहरीले गत साता मात्र विप्लव समूहका मध्य ब्युरो कमान्डर एवम् स्थानीय समिति सदस्य हेमन्तप्रकाश ओलीलगायत ९ जनालाई काभ्रेबाट पक्राउ गरेको थियो ।

ओलीसँगै पक्राउ परेका सैन्य फाँटदेखि केन्द्रीय सदस्यलाई विभिन्न मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । ओली पक्राउ परेपछि विप्लव आफैंले सरकारलाई समेत प्रतिबन्ध लगाउने भन्दै विज्ञप्ति जारी गरेयता प्रहरी झनै आक्रामक भएर अपरेसनमा उत्रिएको छ ।

प्रहरीले सोमबार मात्र कालीकोटबाट विप्लव समूहका बुद्धिजीवीका भेरी÷कर्णाली इन्चार्ज धनराज शाहीलाई पक्राउ गर्यो । लगत्तै विप्लव समूहका नवलपरासी पश्चिम इञ्चार्ज सुमन ज्ञवालीलाई समात्यो । त्यसैगरी सोमबार नै सप्तरी प्रहरीले ३ जना जिल्ला नेतालाई पक्राउ गर्यो ।

‘राज्यले प्रतिबन्ध लगाएर नियन्त्रणमा लिनू भनेपछि हामीले त्यसको फलो गर्नैपर्छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले क्यापिटल नेपालसँग भने, ‘विप्लव समूहका नेता कार्यक्रतालाई जहाँ भेट्यो, त्यहीँ हामीले नियन्त्रणमा लिँदै आएका छौं ।’
आफ्ना विश्वासपात्र तथा मध्य कमान्डर पक्राउ परेपछि सरकारप्रति कडा रुपमा प्रस्तुत हुदै विप्लवले लगानी सम्मेलनकै दिन नेपाल बन्द गरेको छ । यसलेसुरक्षा चुनौती झनै बढेको छ । प्रहरीले विप्लवको प्रतिक्रियालाई गम्भीर रुपमा लिएर त्यहीअनुसार सुरक्षा परिचालन गरेको छ ।

‘शुक्रबार र शनिबार हुने सम्मेलनकै दिन विप्लवले बन्दको आह्वान गरेका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘बन्दको असर नहोला । तर पनि सुरक्षाका दृष्टिले चुनौती भने थपिएको छ ।’