दस महिनापछि मलेसियाको रोजगारी खुल्यो, श्रमस्वीकृति सोमबारबाट

श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार व्यवसायी सङ्घले पनि सहजीकरण गर्ने छ । सङ्घका अध्यक्ष रोहन गुरुङले श्रम स्वीकृति लिएपछि तत्कालै मलेसिया जान पाउने जानकारी दिए ।

काठमाडौं । दस महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ । मलेसियाको रोजगारी खुलेसँगै पहिलो चरणमा कलिङ भिसा पाइसकेकाहरुले सोमबारबाट श्रम स्वीकृति पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै सोमबारबाट श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार कलिङ भिसा पाएकाहरुको सङ्ख्या ७ हजारभन्दा बढी छ । करिब एक महिनाअघि श्रम विभागले सूचना जारी गरी कलिङ भिसा लिएकाहरुको तथ्याङ्क माग गरेको थियो ।

श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार व्यवसायी सङ्घले पनि सहजीकरण गर्ने छ । सङ्घका अध्यक्ष रोहन गुरुङले श्रम स्वीकृति लिएपछि तत्कालै मलेसिया जान पाउने जानकारी दिए ।

यस्तै नयाँ कामदारका लागि भने अझै एक महिना पर्खिनु पर्ने भएको छ । मलेसिया सरकारले स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड पठाएसँगै श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले सूचीकृतका लागि सूचना प्रकाशन गरेको छ । यस्तै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले केही दिनमै सूचना जारी गर्ने तयारी गरिरहेको छ । सूचना प्रकाशन भएपछि मलेसियाबाट पनि केही प्रतिनिधिहरु सूचीकृतका लागि आवेदन दिएका संस्थाहरुको अनुगमनका लागि आउने मन्त्रालय स्रोतको भनाइ छ । मलेसिया तथा श्रम मन्त्रालय सम्मिलित प्रतिनिधिले अवलोकन गरेपछि स्वास्थ्य संस्थाको छनोट हुने छ ।

कामदारमाथि आर्थिक भार पारेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गतेबाट तत्कालका लागि कामदार नपठाउने निर्णय गरेका थिए । कामदारमाथि आर्थिकभार पारेको भन्दै विभिन्न पाँच ओटा संस्थालाई कारबाही प्रक्रिया अगाडि बढाएका थिए । कामदार पठाउन रोक लगाएपछि कलिङ भिसा पाएकाहरु पनि मलेसिया जानबाट वञ्चित भएका थिए ।