काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सूचीकृत हुन सरकारले १५ दिने म्याद दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार सूचना प्रकासित गर्दै स्वास्थ्य परीक्षण गर्ने संस्थालाई १५ दिन भित्र सूचीकृत हुन आह्रवान गरेको हो ।
स्वास्थ्य परीक्षण गर्न सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र पोलिक्लिनिकलगायतका स्वास्थ्य संस्थाहरु सूचीकृत हुन पाउने छन् ।
मन्त्रालयले जारी गरेको सूचनामा वैदेशिक रोजगारमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पूरा गर्न सक्ने भनी गरेको स्वघोषणासहितको रीतपूर्वक निवेदन, वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ (क) बमोजिम सूचीकरण भइसकेको हुनुपर्ने र सूचीकरण नभएकाको हकमा यस मन्त्रालयको मिति २०७५ चैत्र १३ को स्वास्थ्य संस्था सूचीकरणसम्बन्धी सार्वजनिक सूचनाअनुसार सूचीकरणका निम्ति निवेदन दिएको हुनुपर्ने छ ।
यस्तै बुँदा ३ अनुरुप निवेदन दिएकाको हकमा त्यस्ता स्वास्थ्य संस्था छनोट हुनुपूर्व तोकिएको मापदण्ड पूरा गरी सूचीकृत भइसकेको हुनुपर्ने, स्वास्थ्य संस्थाहरुले आफ्नो संस्था सूचीकरण भएको प्रमाणित कागजात पेस गर्नुपर्ने र अन्य उपयुक्त विवरण आवश्यक परेमा मन्त्रालयले माग गर्न सक्ने सर्तहरु अघि सारेको छ । यसअघिसम्म ३९ ओटा स्वास्थ्य संस्थाले मात्रै कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका थिए । अहिले सबैलाई खुला गरिएको छ ।
मन्त्रालय स्रोतका अनुसार १५ दिन भित्र सूचीकृत भएका स्वास्थ्य संस्थाहरुको मापदण्ड परीक्षण गर्न मलेसियाबाट प्रतिनिधिहरु समेत आउने छन् । नेपाल र मलेसियाका प्रतिनिधिहरुले संयुक्त रुपमा निरीक्षण पछि सूचीकृत हुने छन् । करिब १ महिना भित्रमा स्वास्थ्य संस्थाको सूचीकृत भएपछि नयाँ कामदारहरु पनि मलेसियामा रोजगारका लागि जान पाउने छन् ।