बेकरले बेजोसको फोन ह्याकको सम्बन्ध साउदी पत्रकार जमाल खसोग्जीको साउदी वाणिज्य दूतावासमा भएको कथित हत्याबारे वाशिङटन पोस्टले गरेको कभरेजसँग रहेको बताएका छन् । तर, साउदी अरबले हालसम्म यी आरोपमाथि कुनै प्रतिक्रिया दिएको छैन ।
एजेन्सी । अमेजन कम्पनीका मालिक जेफ बेजोसको फोन साउदी अरबले ह्याक गरेर उनको डेटामा पहुँच पुर्याएको बेजोसका एक अनुसन्धानकर्ताले बताएका छन् । बेजोसका निजी अनुसन्धानकर्ता गाभिन डी बेकरले त्यस्तो बताएका हुन् ।
नेसनल इन्क्वाइरर ट्याबलोइडबाट उनका निजी सन्देश लिक भएपछि बेजोसले त्यसमाथि अनुसन्धान गर्न बेकरलाई अनुसन्धानकर्ताको रुपमा नियुक्त गरेका थिए ।
बेकरले बेजोसको फोन ह्याकको सम्बन्ध साउदी पत्रकार जमाल खसोग्जीको साउदी वाणिज्य दूतावासमा भएको कथित हत्याबारे वाशिङटन पोस्टले गरेको कभरेजसँग रहेको बताएका छन् । तर, साउदी अरबले हालसम्म यी आरोपमाथि कुनै प्रतिक्रिया दिएको छैन । बेजोस वाशिङटन पोस्टका पनि मालिक हुन् ।
बेकरले आफूले पाएका प्रमाण अमेरिकी सङ्घीय अधिकारीसमक्ष बुझाएको बताएका छन् ।
जेफ बेजोसले गत फेब्रुअरीमा नेसनल इन्क्वाइररको अभिभावक कम्पनी अमेरिकन मिडिया कर्पोरेसन (एएमआई)ले आफूलाई आफ्ना गोप्य तस्वीरहरु प्रकाशन गर्ने भनी धम्की दिँदै ब्ल्याकमेल गरेको आरोप लगाएका थिए ।
नेसनल इन्क्वाइररले जनवरीमा अमेजनका मालिक बेजोसको नाजायज सम्बन्ध रहेको दाबी प्रकाशन गर्नुका साथै उसले फोटो र टेक्स्ट म्यासेजहरु पनि प्रकाशन गरेको थियो ।
जेफ बेजोस अहिले विश्वकै धनाढ्य व्यक्ति हुन् ।