हावाहुरीले धनजनको व्यपाक क्षति भएकोमा महासंघ दुखी, सहयोगको लागि अपील

महासंघले सम्बन्धित् प्रदेश महासंघ सहित जिल्ला निर्माण व्यवसायी संघहरुलाई समेत हावाहुरी पीडितहरुको सहयोगार्थ आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह पनि गरेको छ ।

काठमाडाैं । बारा, पर्सा लगायतका तराईका जिल्लामा आएको भीषण हावाहुरीका कारण जनधनको व्यापक क्षति भएकोप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै यस त्रासदीपूर्ण घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

विज्ञप्ति मार्फत् महासंघले पीडाको यस घडीमा पीडितहरुको उपचार तथा आवश्यक सबै खाले सहयोगका लागि तत्काल प्रभावकरी कदम चाल्न संघीय, प्रदेश तथा स्थानीय सरकार समक्ष अनुरोध गरेको छ । महासंघले सम्बन्धित् प्रदेश महासंघ सहित जिल्ला निर्माण व्यवसायी संघहरुलाई समेत हावाहुरी पीडितहरुको सहयोगार्थ आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह पनि गरेको छ ।

विपतको यस कारुणीक क्षणमा हावाहुरीका कारण पीडित तराईका जनताको सहयोगार्थ आफ्नो तर्फबाट समेत सबै खाले सहयोग गर्न महासंघ तयार रहेको प्रतिबद्धता विज्ञप्तिमा जनाइएको छ । विगतमा पनि आफ्नो गहन सामाजिक तथा राष्ट्रिय जिम्मेवारी महसुस गर्दै महाभूकम्प, बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा महासंघले तन, मन, धन सबै किसिमबाट पीडितहरुलाई सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै महासंघले मौसमको पूर्वानुमान गर्न सकिने प्रभावकारी प्रणालीको विकास गरी भविष्यमा यस्ता प्राकृतिक विपत्तिबाट जनधनको रक्षाका लागि तत्काल ठोस कदम अघि सार्न समेत सरकार समक्ष आग्रह गरेको छ ।