
नेप्से बढेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । मङ्गलबार १८ लाख ७१ हजार २ सय ४ कित्ता सेयर किनबेच भई ४९ करोड ४२ लाख ८८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । मङ्गलबार नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको सबैभन्दा धेरै ४ करोड २५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० दिनपछि दोहोरो अङ्कले बढेको छ । मङ्गलबार १३.७२ अङ्कले सूचक बढेपछि नेप्से ११६३.४७ अङ्कमा पुगेको छ । यद्यपि कारोबारको समयमा भने नेप्से केही माथि उक्लिए पनि उतारचढाव झेल्दै फागुन २८ को ११६३.२६ बिन्दुलाई उछिनेर अघि बढ्ने सङ्केत गरेको हो । निरन्तर घटेको बजारमा एक सातादेखि सकारात्मक प्रतिक्रिया जनाउँदै पुरानो बिन्दुलाई छोएको छ भने नेप्सेमा दोहोरो अङ्कको सुधार पनि आएको छ ।
यो अवधिको कारोबार प्रवृत्तिलाई हेर्दा बजार आगामी दिनमा केही बढ्ने सङ्केत गरेको छ । तर, बजारलाई सपोर्ट गर्ने कुनै प्रकारका अवयव सतहमा नहुँदा बजार बढिहाल्ने अवस्था पनि छैन । यद्यपि चालू आर्थिक वर्ष तेस्रो त्रैमासको अन्तिम समयतिर रहेकाले बजार थप सकारात्मक हुने सम्भावना भने छ । त्यसैगरी तेस्रो त्रैमासपछि सूचीकृत कम्पनीहरुले दिने लाभांशको आकार तय हुने, ब्याजदर केही घट्ने आशा, नियामकहरुले आवश्यक नीति नियममा सुधार गर्ने प्रक्रिया अघि बढाएको र गत साता सम्पन्न लगानी सम्मेलनको सकारात्मक प्रभाव परेकाले बजार बढ्नका लागि आशा गर्ने ठाउँ भने छ ।
नेप्से बढेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । मङ्गलबार १८ लाख ७१ हजार २ सय ४ कित्ता सेयर किनबेच भई ४९ करोड ४२ लाख ८८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । मङ्गलबार नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको सबैभन्दा धेरै ४ करोड २५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस दिन जलविद्युत र निर्जीवन बिमाबाहेक अन्य उपसूचकहरु बढेपछि त्यसको सकारात्मक प्रतिक्रिया नेप्सेमा परेको हो । जीवन बिमा उपसूचक ३८.८६ अङ्क र लघुवित्त सूचक सबैभन्दा कम २.२१ अङ्कले बढेको छ । यसदिन पनि जलविद्युत ३.४८ अङ्क र निर्जीवन बिमा उपसूचक ६.७६ अङ्कले घटेको छ ।
भार्गव विकास बैङ्कको सेयरधनीले यस दिन सबैभन्दा बढी कमाएका छन् । भार्गवको सेयर मूल्य ९.४ प्रतिशतले बढेको छ । त्यस्तै निरन्तर बजार घटिरहेको युनिभर्सल पावरको मङ्गलबार पनि सबैभन्दा बढी घटेर कारोबार भएको छ । युनिभर्सलको मङ्गलबार ९.५८ प्रतिशतले घट्दै प्रतिकित्ता १ सय ३२ रुपैयाँमा खुम्चिएको छ ।