विमानस्थल सेटिङ गरेर दुई जनालाई दुबई पठाउन लागेका बेला कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीकी म्यानेजर बिमला थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति दुई लाख ४० हजार रुपैयाँ लिएर दुबई पठाउने तयारी गरेका बेला महानगरीय अपराध महाशाखाले थापालाई पक्राउ गरेको हो ।
काठमाडौं । म्यानपावर कम्पनीले नै विमानस्थल सेटिङ्ग गरेर युवालाई दुबईलगायत खाडी मुलुकमा पठाउने गरेको रहस्य खुलेको छ ।विमानस्थल सेटिङ गरेर दुई जनालाई दुबई पठाउन लागेका बेला कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीकी कर्मचारी बिमला थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति दुई लाख ४० हजार रुपैयाँ लिएर दुबई पठाउने तयारी गरेका बेला महानगरीय अपराध महाशाखाले थापालाई पक्राउ गरेको हो ।
धनुषा मिथिला बिहारी नगरपालिका २ का मोहम्मद गुलाम राइन र सबिर राइनको उजुरीपछि महाशाखाले थापालाई पक्राउ गरेको हो ।बेरोजगार युवाहरुलाई यहाँबाट भिजिट भिसामा दुबई पठाउने र उता वर्किङ भिसा मिलाइदिने कम्पास म्यानपावर कम्पनीले दर्जनौं युवालाई ठगी गरेको प्रहरीले जानकारी दिएको छ । कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीले लामो समयदेखि विमानस्थल सेटिङ गरी भिजिट भिसामा युवाहरुलाई खाडी पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कम्पास रिक्रुटमेन्टले चैत्र ११ गते मोहम्मद र सबिरसँगै अन्य केही युवालाई दुबई पठाउने तयारी गरेको थियो । उनीहरुबाहेक अन्य युवा दुबई गएको र उनीहरु जान नपाएपछि प्रहरीमा उजुरी गरेका थिए ।पछिल्लो समय विमानस्थल सेटिङमा केही म्यानपावर कम्पनी सक्रिय रहेको विमानस्थल स्रोतले जानकारी दियो ।स्रोतका अनुसार केही समयअघिसम्म ट्राभल एजेन्सीले नै भिजिट भिसामा कामदार पठाउँदै आएका थिए । त्यसरी पठाउने ट्राभल एजेन्सीलाई प्रहरीले कारबाही गर्न थालेपछि म्यानपावर कम्पनी नै सक्रिय हुन थालेको स्रोतले क्यापिटल नेपाललाई जानकारी दियो ।