भारतले अमेरिकासँग २६० करोड अमेरिकी डलरमा २४ ओटा लडाकु हेलिकप्टर किन्दै

भारत सरकारले मल्टी–मोड रडार, मल्टी–स्पेक्ट्रल टार्गेटिङजस्ता प्रणाली जडित एमएच–६०‘आर’ मल्टी मिशन हेलिकप्टरका लागि अमेरिकासँग आग्रह गरेको थियो ।

एजेन्सी । भारतले अमेरिकासँग २६० करोड अमेरिकी डलर बराबरको २४ ओटा एमएच–६०‘आर’ ‘रोमियो’ हेलिकप्टर खरिद गर्दै छ । अमेरिका उक्त लडाकु हेलिकप्टर बेच्न तयार भएको हो । दुई देशबीचको सम्बन्ध मजबुत बनाउनका लागि पनि अमेरिकाले भारतलाई हेलिकप्टर बेच्ने निर्णय गरेको अमेरिकी विदेश विभागले जनाएको छ ।

अमेरिकी विदेश विभागले एक वक्तव्य जारी गरी हेलिकप्टर बेच्ने विषयको एक प्रस्ताव संसदमा पठाएको जनाएको छ । भारत सरकारले मल्टी–मोड रडार, मल्टी–स्पेक्ट्रल टार्गेटिङजस्ता प्रणाली जडित एमएच–६०‘आर’ मल्टी मिशन हेलिकप्टरका लागि अमेरिकासँग आग्रह गरेको थियो ।

अमेरिकाका अनुसार भारतले यो हेलिकप्टर आफ्नो भूमी रक्षा गर्नुका साथै खोज र उद्धार कार्यका लागि पनि उपयोग गर्न सक्ने छ । यो हेलिकप्टर न्युयोर्कस्थित लोकहिड मार्टिन रोटरी र मिशन सिस्टम नाम गरेको कम्पनीले बनाएको हो । जुन् हेलिकप्टरलाई समुन्द्रमा काम गर्ने संसारकै राम्रो मानिन्छ । खासगरी यो हेलिकप्टर समुन्द्री जहाजबाट उड्न र उत्रनका लागि बनाइएको हो ।

एमएच–६०‘आर’ हेलिकप्टरमा आधुनिक जीपीएस प्रणालीका साथै मिसाइल बाहक क्षमता पनि रहेको छ । त्यसका अलावा कठिन परिस्थितिमा पनि उडान भर्न सकिन्छ । उडानका क्रममा यो हेलिकप्टर ८ मिटर प्रतिसेकेन्डको रफ्तारमा सिधै उठन सक्छ भने प्रतिघन्टा २६७ किलोमिटरको रफ्तारमा उड्न सक्छ ।