सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

केन्द्र र प्रदेश सरकारका कामरबाही तथा योजनाका विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका प्रमुखहरुबीच बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा हालै बारा र पर्सामा हावाहुरीका कारण जनधनको क्षति भएपछि राहत तथा विस्थापितहरुको पुनस्थापना साथै अन्य प्रदेशहरुमा आइपर्न सक्ने विपद र सावधानीका विषयमा विशेष छलफल हुने बुझिएको छ । साथै केन्द्र र प्रदेश सरकारका कामरबाही तथा योजनाका विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलका क्रममा प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशन दिने बुझिएको छ ।

बैठकमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी छन् ।