आगामी बजेटमा स्थानीय, प्रदेश र केन्द्रका कार्यक्रम नदोहोरिउन्ः प्रधानमन्त्री ओली

सात ओटै प्रदेश प्रमुखसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र केन्द्र सरकारका नीति तथा कार्यक्रम र बजेट नदोहोरिउन् भनेर सचेत रहन निर्देशन दिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थीक वर्षको नीति तथा कार्यक्र र बजेटमा स्थानीय, प्रदेश र केन्द्रका कार्यक्रम नदोहोरियोस् भन्नेतर्फ ध्यान दिन सात ओटै प्रदेशका प्रदेश प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको सात ओटै प्रदेश प्रमुखसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र केन्द्र सरकारका नीति तथा कार्यक्रम र बजेट नदोहोरिउन् भनेर सचेत रहन निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषदको अघिल्लो बैठकले पास गरेका २९ बुंधाको कार्यान्वयन तदारुकताका साथ गरिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै प्रधानमन्त्री ओलीले बारा र पर्सामा हावाहुरीबाट पीडित भएकाहरुलाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए ।