यो चुनाव निकै महत्वपूर्ण छ, बाँकी देशका जनतासम्म दार्जलिङ, तराई र दोआरका क्षेत्रका जनताहरुले गोर्खाल्यान्ड राज्यका मागलाई त्यागेका छैनन् भन्ने सन्देश पुर्याउनका लागि हो
एजेन्सी । भूमिगत अवस्थामा रहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले स्वायत्त गोर्खाल्यान्ड राज्यको माग अझै जीवित रहेको बताएका छन् । दार्जलिङका क्षेत्रमा प्रमुख दल त्रिणमूल कांग्रेस र भारतीय जनता दलले अबको लोकसभा चुनावमा भिन्न राज्य मागको विषय राजनीतिक मुद्दा नबन्ने भनिरहँदा गुरुङको यस्तो प्रतिक्रिया आएको हो ।
भारतीय समाचार संस्था पीटीआईसँग दार्जलिङको अज्ञात स्थानबाट बुधबार कुरा गर्दै गुरुङले भने, ‘हामीले प्रत्येक चुनावलाई हाम्रा लक्ष्यसम्म पुग्ने एउटा खुड्कीलोको रुपमा हेर्दै आएका छौँ । तर, यो चुनाव निकै महत्वपूर्ण छ, बाँकी देशका जनतासम्म दार्जलिङ, तराई र दोआरका क्षेत्रका जनताहरुले गोर्खाल्यान्ड राज्यका मागलाई त्यागेका छैनन् भन्ने सन्देश पुर्याउनका लागि हो ।’ उनले अगाडि भने, ‘यो चुनाव हामीले उभिएर डराएका छैनौं भन्ने समय हो ।’
दार्जलिङमा २०१७ जूनमा भएको झडपपछि अज्ञात रहेका नेता बिमल गुरुङका अनुसार यो चुनावमा प्राप्त हुने जीतले स्वायत्त राज्यको सपनाको थप नजिक लानेछ । आउँदै गरेको लोकसभा चुनावमा दार्जलिङको सिटका लागि गोर्खा जनमूक्ति मोर्चाको दुई गुट एउटा बिमल गुरुङले नेतृत्व गरेको गुटले भाजपाका उम्मेद्वार राजु विष्ट र अर्को गुट बिनय तामाङले नेतृत्व गरेको गुटले त्रिणमुल काँग्रेसको उम्मेद्वार अमर राईलाई समर्थन गर्छ भन्ने हल्लालाई गुरुङले गलत सावित गरेका छन् । तर, तामाङको गुटभन्दा फरक गुरुङको गुटले बिष्टलाई समर्थन गर्ने भएपनि पूर्व एमपी भाजपा एमपी एसएस अहलुवालियाविरुद्ध आफ्नो गुनासो नरहेको बताएका छन् । गुरुङले अहलुवालियाले गोर्खा जनमुक्ति मोर्चा दलको सरोकार र मुद्दालाई उठाउन इमान्दारीपूर्ण भूमिका खेलेको बताएका छन् ।
दार्जलिङमा यहि अप्रिल १८ मा लोकसभा चुनाव हुँदैछ । २०१७ को वर्ष स्वायत्त दार्जलिङ राज्यको माग गर्दै त्यहाँ १०४ दिन लामो बन्द हड्ताल भएको थियो ।