ब्रेक्जिटको समयसीमा थप्न ब्रिटिश सांसदको स्वीकृति

गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री टरिजा मेले विपक्षी लेबर नेता जेरेमी कोर्बिनसँग भेटेको पृष्ठभूमिमा उक्त मतदान भएको थियो। सो प्रस्ताव लेबर पार्टीकै एक सांसदले गरेका थिए।

एजेन्सी । ब्रिटेनको संसद्को तल्लो सदनमा भएको मतदानमा युरोपेली सङ्घ ईयूबाट बाहिरिनका लागि ईयूसँग थप समय माग्ने प्रस्ताव एक मतको अन्तरले पारित भएको छ।

अर्को साता ईयूबाट हुनसक्ने ठानिएको सम्झौताबिना ब्रिटेनको बहिर्गमन रोक्नका लागि सांसदहरूले यस्तो मत दिएका हुन्। गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री टरिजा मेले विपक्षी लेबर नेता जेरेमी कोर्बिनसँग भेटेको पृष्ठभूमिमा उक्त मतदान भएको थियो। सो प्रस्ताव लेबर पार्टीकै एक सांसदले गरेका थिए।

अबको प्रक्रिया

अब यो प्रस्ताव कानुन बन्नका लागि ब्रिटेनको माथिल्लो सदनबाट समेत पारित हुनुपर्छ। ईयूले यसका लागि स्वीकृति दिन्छ वा दिँदैन भन्ने चासो समेत उत्तिकै छ।

मतदानअघि कोर्बिनसँग भएको मेको वार्तालाई प्रधानमन्त्री कार्यालयले रचनात्मक भन्दै त्यसमा दुवै पक्षले प्रतिबद्धता र लचकता देखाएको बताएको थियो। कोर्बिनले चाहिँ वार्ता उपयोगी भएपनि अपूरो भएको प्रतिक्रिया दिएका थिए। उक्त बैठककै कारण मेले आफ्नो कन्जर्भेटिभ पार्टीका ब्रेक्जिट पक्षधरहरूबाट चर्को आलोचना सामना गर्नुपरेको छ। उनका दुई कनिष्ठ मन्त्रीहरूले राजीनामा समेत दिएका छन्।

अबको बाटो

बिहीवार ब्रेक्जिट योजनामा सहमति खोज्नका लागि दुई पार्टीहरू दिनभरि छलफल गर्दैछन्। जसमा ईयूले १० एप्रिलमा डाकेको आपत्कालीन बैठकअगाडि नै सदनमा प्रस्तुत गर्नेगरी कुनै प्रस्ताव निकाल्नेबारे छलफल हुँदैछ। यदि त्यसमा सहमति ननिस्किए प्रधानमन्त्रीले थप केही विकल्पहरू दिने वाचा गरेकी छन्। जसमा उनले ईयूसँग छलफल गरेर तयार पारेको ब्रेक्जिट सम्झौता समेत हुनेछ जुन यसअघि तीनपटक अस्वीकृत भइसकेको छ । बीबीसी