फ्रान्सको लियोनमा चैत्र २६ देखि २८ गते सम्म हुने इन्टरपोलको १५ औं हेड्स अफ एनसीबी सम्मेलनमा भाग लिन महानिरीक्षक खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोन प्रस्था गरेका छन् । फ्रान्सको लियोनमा चैत्र २६ देखि २८ गते सम्म हुने इन्टरपोलको १५ औं हेड्स अफ एनसीबी सम्मेलनमा भाग लिन महानिरीक्षक खनाल बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा इन्टरपोल सदस्य राष्ट्रका सुरक्षा प्रमुखहरुसँगको अन्तरक्रियाबाट एनसीबीहरुको कार्यशैलीमा थप प्रभावकारिता ल्याउने, अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षा सम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा छलफल हुनेछ ।
विकसित नयाँ प्रविधिमा साक्षात्कार एवं अन्तर्राष्ट्रियस्तरमा व्यवसायिक सम्बन्ध विस्तार गर्दै भावी रणनीति तय गरी कार्यान्वयनमा लैजान विभिन्न सदस्य राष्ट्रहरुबीच द्विपक्षीय छलफलका साथै एसिया तथा दक्षिण प्यासिफिक क्षेत्रीय गोलमेच छलफलसमेत सो अवसरमा हुने कार्यक्रम रहेको बताइएको छ ।
सम्मेलनमा प्रविधि एवं प्राविधिक क्षेत्रमा भएको परिवर्तन, आतंकवाद र आतंककारी क्रियाकलाप, साइवर अपराध, डार्क नेट, क्रिप्टो करेन्सिज, डिएनए, फिङ्गरप्रिन्ट डाटावेश तथा फेसियल रिकगनिसन लगायतका विषय र ती विषयका चुनौती तथा समाधानका पक्षमासमेत सम्मेलनमा विशेष छलफल हुने कार्यक्रम तय भएको बताइएको छ ।