कतार पुगेर महराले भने– नेपालको ऊर्जा क्षेत्र र पूर्वाधारमा लगानी गर्नुस्

सभामुख महराले कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीसँगको शिष्टाचार भेटका क्रममा सभामुख महराले नेपालमा विकासको थुप्रै सम्भावनाहरु रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन् ।

कतार (दोहा) । सभामुख कृष्णबहादुर महराले नेपालको कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गरेका छन् । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औं सभामा सहभागी हुन कतार पुगेका सभामुख महराले कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीसँगको शिष्टाचार भेटका क्रममा सभामुख महराले नेपालमा विकासको थुप्रै सम्भावनाहरु रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन् ।

अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटका अवसरमा सभामुख महराले छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको बताए । उनले नेपाल–कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको भन्दै समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप मजबुत र प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने बताए ।
कतारमा ४ लाख बढी नेपाली जनशक्ति विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै सभामुख महराले उनीहरुको पेशागत सुरक्षा र सेवा सुविधाका बारेमा परराष्ट्रमन्त्री अल थानीसँग चासो व्यक्त गरेका थिउ । कतारमा अहिले ४ लाख बढी नेपालीहरु विभिन्न पेशा र क्षेत्रमा काम गरिरहेका छन्, सभामुख महराले भने, ‘उनीहरुको पेशागत तथा भौतिक सुरक्षा, सेवा सुविधाका लागि सरकारी तहबाट आवश्यक पहल र चासो भइरहनेछ भन्ने हाम्रो चाहना हो ।’

नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै सभामुख महराले परराष्ट्रमन्त्री अल थानीलाई नेपाल भ्रमणका लागि निम्तोसमेत गरे । साथै सो अवसरमा सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताका लागि शुभकामना पनि व्यक्त गरे । सभामुखसँगको शिष्टाचार भेटका कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री अल थानीले आइपियूको १४० औं सभाको सन्दर्भमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको भ्रमणले कतार–नेपाल सम्बन्ध थप प्रगाढ बनाउन सहयोग मिलेको बताए ।

नेपाल भ्रमणका लागि आफूले पहिलेदेखि नै कोशिस गरिरहेको भन्दै अल थानीले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे । कतारमा थुप्रै नेपाली जनशक्ति रहेको र उनीहरुको सुरक्षा, सुविधाका बारेमा आफूहरु सचेत रहेको बताए ।