सेयर बजार निरन्तर ओरालो

बुधबार नेप्सेमा नेप्सेमा १५२ कम्पनीको ३ हजार एक सय ९३ कारोबारबाट २६ करोड ५५ लाख रुपैयाँबराबरको ७ लाख ४२ हजार १० कित्ता सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर घट्दो क्रममा देखिएको छ । विगत केही समयदेखि स्थिर रहेको नेप्से पछिल्लो समयमा घट्दो क्रममा देखिएको हो ।
लामो समय स्थिर रहेर १४ सयभन्दा तल झरेको सेयर बजार बुधबार पनि दोहोरो अङ्कले घटेपछि नेप्सेले बियरिस टे«ण्ड लिएको लगानीकर्ताहरुको विश्लेषण छ । लामो समयसम्म १४ सयको हाराहारीमा अडिने प्रयास गरेको नेप्से यो साता तल लागेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा देखिएको गिरावटले लगानीकर्ता लगानीका अन्य क्षेत्रहरुको खोजीमा रहेको देखिन्छ ।

मङ्गलबार १० अङ्कले घटेको नेप्से बुधबार १२ अङ्कले घटेको हो । वित्तीय संस्थाको पुँजी वृद्धिका कारण सेयर बजार अधिक आपूर्ति भएपछि बजार घट्दो क्रममा लागेको हो । पछिल्लो समयमा वित्तीय प्रणालीको ब्याजदरमा आएको गिरावटले पनि सेयर बजार घट्नमा थप सहयोग गरेको हो ।

बुधबार नेप्सेमा २६ करोड रुपैयाँबराबरको कारोबार भएको छ । मङ्गलबारको तुलनामा कारोबार रकममा केही सुधार आए पनि नेप्सेको दैनिक कारोबार रकमको तुलनामा धेरै न्यून हो ।

कारोबार सुरु हुँदादेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । सेयर बुधबार कारोबार सुरु हुँदा १३९४.०३ अङ्कमा रहेको नेप्से १२.०१ अङ्कले घटेर १३८२.०२ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि २.६६ अङ्कले घटेको छ ।

नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक नकारात्मक भएपछि समग्र बजार सूचक घटेको हो । नेप्सेका कारोबार भएका बैङ्क १०.५, विकास बैङ्क ६.५७, अन्य समूह ९, बिमा ८३.०५, होटल १८.१३, लघुवित्त समूह १५.९१, जलविद्युत् समूह १.६३ र उत्पादन मूलक समूह १६.२९ अङ्कले घटेका छन् । तर, व्यापार ३.२ र वित्त समूह भने ४.३३ अङ्कले बढेका छन् ।

बुधबार नेप्सेमा नेप्सेमा १५२ कम्पनीको ३ हजार एक सय ९३ कारोबारबाट २६ करोड ५५ लाख रुपैयाँबराबरको ७ लाख ४२ हजार १० कित्ता सेयर किनबेच भएको छ ।