काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सहित्यकार एवम् वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले मुक्तक संग्रह सार्वजनिक गरेका हुन् ।
काठमाडौं । रामेछापकी कल्पना तामाङद्वारा लिखित मुक्तक संग्रह ‘हिउँको आगो’ सार्वजनिक भएको छ । काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सहित्यकार एवम् वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले मुक्तक संग्रह सार्वजनिक गरेका हुन् । ‘हिउँको आगो’ सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार पौडेलले पछिल्लो समयमा युवा पुस्ताहरु साहित्यतर्फ आकर्षित हुन लागेको भन्दै उनीहरुलाई पूराना पुस्ताले सघाउनु पर्ने बताए । उनले ‘हिउँको आगो’की लेखक कल्पना तामाङलाई ऊर्जाशील स्रष्टाको सरुपमा चित्रण गरे ।
मधुवन साहित्यिक प्रतिष्ठान नेपालले तामाङको मुक्तक संग्रह प्रकाशन गरेको हो । कार्यक्रममा निर्मोही ब्यास, गोविन्द् गिरी ‘प्रेरणा’, सितल गिरी, जीवन खत्रीलगायतले मुक्त संग्रहमाथि टिप्पणी गरेका थिए । ७२ पेज लामो संग्रहमा १२० वटा मुक्तक समावेश गरिएको छ । मुक्तकमा प्रेम, सामाजिक, आर्थिक, सांस्कृतिकदेखि राजनीतिजस्ता विषयलाई समावेश गरिएको छ ।
कार्यक्रममा लेखक तामाङले सार्वजनिक गरिएको मुक्तक संग्रहबाट केही मुक्तक वाचन गेकी थिइन् । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ४ सालुमा जन्मिएकी तामाङले यसअघि ‘पल्लवी रातहरु’ संयुक्त मुक्तक संग्रह, ‘हैसियत–३’ र ‘शब्द शीविर’ नामक संयुक्त गजलसंग्रह प्रकाशित गरिसकेकी छिन् ।