पूर्वराजा ज्ञानेन्द्र चढ्ने गाडीको ठक्करबाट १ को मृत्यु, १ घाइते

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका४ का २२ वर्षीय हेम चौधरीको मृत्यु भएको र मोटरसाइकलमै सवार अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ ।

काठमडौं । पूर्वराज ज्ञानेन्द्र शाह चढ्ने गरेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् । बुधवार राति करिब ८ बजेतिर पूर्वराज शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका४ का २२ वर्षीय हेम चौधरीको मृत्यु भएको र मोटरसाइकलमै सवार अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते चौधरीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको ट्राफिक जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिए। प्रहरीका अनुसार घाइते अर्का एकजनाको परिचय खुल्न नसकेको र उनको उपचार भइरहेको छ ।

ठक्कर दिने गाडी चालक जितेन्द्र लम्साललाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको निरीक्षक पोखरेलले जानकारी दिए। लम्साल शसस्त्र प्रहरीको जवान भएको खुलेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।