वैशाख १३ भित्र धरौटी वृद्धि र मर्जरसम्बन्धी सुझाव पेस हुने

मन्त्रालयले चैत्र २६ गते मन्त्रीस्तरीय निर्णयबाट सहसचिव उमेश ढुङ्गानाको संयोजकत्वमा ९ सदस्यीय सुझाव कार्यदल गठन गरेको छ । कार्यदलको पहिलो बैठक बिहीबार बसेको छ ।

काठमाडौं । मेनपावर कम्पनीको धरौटी वृद्धि र मर्जरसम्बन्धी सुझाव वैशाख १३ गतेभित्र आउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोसम्बन्धी एक कार्यदल बनाएर राय, सुझाव लिने भएको हो ।

मन्त्रालयले चैत्र २६ गते मन्त्रीस्तरीय निर्णयबाट सहसचिव उमेश ढुङ्गानाको संयोजकत्वमा ९ सदस्यीय सुझाव कार्यदल गठन गरेको छ । कार्यदलको पहिलो बैठक बिहीबार बसेको छ ।

बैठकले थप नगद धरौटी कसरी राख्ने, मर्जर हुने संस्थालाई के कस्तो सुविधा दिने, कम्पनी ऐनको व्यवस्था के छ, जिल्ला प्रशासन कार्यालयले संस्थागत उजुरी के कस्तो आधारमा लिई विभागमा पठाउने भन्ने विषयमा प्रारम्भिक छलफल भएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।

कार्यदलको बैठक अर्को साता बस्ने छ । कार्यदललाई सुझाव पेस गर्न वैशाख १३ गतेसम्मको समय निर्धारण गरिएको जनाएको छ ।

यसअघि मन्त्रालयले मेनपावर कम्पनीहरुको धरौटी रकम बढाउने र मर्ज हुन चाहनेहरुलाई समय दिने निर्णय गरेको थियो ।