तरकारी बजारमा बम विस्फोट, १६ जनाको मृत्यु

पाकिस्तानको बलोचिस्तान प्रान्तको क्वेटामा शुक्रवार बिहानै गराइएको एउटा बम विस्फोटमा कम्तीमा १६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तको क्वेटामा शुक्रवार बिहानै गराइएको एउटा बम विस्फोटमा कम्तीमा १६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रान्तीय राजधानी क्वेटाको हजारगन्ज क्षेत्रस्थित एउटा तरकारी बजारमा विस्फोट भएको प्रहरीले जनाएको छ। बजारमा रोकिराखेको प्रहरीको गाडीलाई लक्षित गरी विस्फोट गराइएको विवरणहरूमा जनाइएको छ। हताहतीबारे प्रहरी अधिकारी अब्दुल रज्जाक चीमाले भने, ‘हमलामा १६ जना मारिएकोमा आठजना हजारा समुदायका छन् भने एक सुरक्षाकर्मी र बाँकी तरकरी बजारका मान्छे छन्।’

विस्फोटमा कम्तीमा १५ जना घाइते भएको र उपचारका लागि उनीहरूलाई अस्पताल पुर्याइएको छ। छानबिनपछि मात्रै हमला आत्मघाती भए वा नभएको थाहा हुन सक्ने उनले बताए। मानिसहरूले काम गरिरहेका बेला आलुको गोदामबाहिर विस्फोट भएको थियो। विस्फोटपछि घटनास्थल वरपरको क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेको र बम निष्क्रिय पार्ने टोली पठाएको छ।

विस्फोटको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। प्रहरीका अनुसार हजारगन्जमा हजारा शिया समुदायका मानिसहरू बस्छन्। आजको विस्फोटमा मारिने र घाइते हुनेमध्ये अधिकांश सोही समुदायको रहेको समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तानमा हजारा शिया समुदायका मानिसहरूलाई लक्षित गरी विगतमा पनि विस्फोट गराइएका दृष्टान्त छन्। बीबीसी