कर्मचारीको अल्छीका कारण नै टेलिकम तल खस्केको होः मन्त्री बाँस्कोटा

टेलिकमको एफटीटीएच (फाइबर टु द होम) सेवाको शुक्रबार जकपुरमा शुभारम्भ गर्दै सञ्चारमन्त्री बाँस्कोटाले चार हजार १०० कर्मचारी भएको संस्था उत्पादनका हिसाबले दोस्रो हुन पुग्नु दुःखद हो,

जनकपुरधाम । सञ्चार एवं सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा नयाँ युगको शुरूआत गर्न आग्रह गरेका छन् । टेलिकमको एफटीटीएच (फाइबर टु द होम) सेवाको शुक्रबार जकपुरमा शुभारम्भ गर्दै सञ्चारमन्त्री बाँस्कोटाले चार हजार १०० कर्मचारी भएको संस्था उत्पादनका हिसाबले दोस्रो हुन पुग्नु दुःखद हो, अब यसलार्ई ग्राहकसेवी र जनसेवी बनाउनु पर्ने बताए । क्षमता अभिवृद्धि, सेवा विस्तार, गुणस्तरीयता र जनताको मन जित्ने किसिमले कार्यसम्पादनमाथि जोड दिँदै मन्त्री बाँस्कोटाले टेलिकमबाट बाहिरिएकै प्राविधिकको सीपबाट अन्य संस्था प्रतिस्पर्धामा अग्रस्थानमा रहनुले पनि यसको सेवाको विश्वसनीयतामाथि प्रश्नचिह्न लागेको बताए ।

सम्पत्तिका दृष्टिले पनि सम्पन्न अवस्था रहेको टेलिकमको कार्यसम्पादन कर्मचारीको अल्छीपनका कारण तल खस्केको बताउँदै कम्पनीले अघि सारेको फोरजीलगायत नौ परियोजनाको सफल कार्यान्वयनतर्फ उन्मुख भई डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न सबैमा आग्रह गरे । उनले भने, ‘पलपलमा चुनौती थपिँदै गएको परिवेशमा टेलिकमले सेवालाई छिटो र गुणस्तरीय ढङ्गले कुनाकाप्चासम्म विस्तार गर्नु जरूरी छ ।’

प्राविधिक रूपान्तरणको पहिलो पाइलाका रूपमा टेलिकमले जनकपुरधाम क्षेत्रका ११ हजार सेवाग्राहीलाई सो सेवा क्रमिक रूपले उपलब्ध गराउने लक्ष्य राखेको छ । सो प्रविधिअन्तर्गत अप्टिकल फाइबरमार्फत प्रयोगकर्ताले भिडियो र डाटा उच्चगतिको प्राप्त गर्ने जनाइएको छ । रासस