सिस्टमबाट सुशासन कायम गर्छौं : मन्त्री अर्याल

कार्यक्रममा नापी कार्यालय भक्तपुर र भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको अनुगमन गर्दै मन्त्री अर्यालले पहिलो नम्बरमा सुशासन कायम गर्ने उद्देश्य लिएर मन्त्रालय अगाडि बढेको बताइन् । मन्त्रालय मातहतका नापी तथा मालपोत कार्यालयमाथि सुशासनको विषयलाई लिएर प्रश्न उठेको भन्दै मन्त्री अर्यालले केही कमजोरीका कारण माथि क्लिन भए पनि तलबाट गिज्याउने काम भइरहेको बताइन् ।

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालय मातहतका कार्यालयलाई डिजिटल बनाएर सुशासन कायम गरिने बताएकी छिन् । नापी कार्यालय भक्तपुरमा जेष्ठ नागरिक एवम् शारीरिक रुपले अशक्त सेवाग्राहीका लागि निर्मित विश्राम कक्ष तथा महिलाहरुका लागि स्तनपान कक्षको शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

कार्यक्रममा नापी कार्यालय भक्तपुर र भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको अनुगमन गर्दै मन्त्री अर्यालले पहिलो नम्बरमा सुशासन कायम गर्ने उद्देश्य लिएर मन्त्रालय अगाडि बढेको बताइन् । मन्त्रालय मातहतका नापी तथा मालपोत कार्यालयमाथि सुशासनको विषयलाई लिएर प्रश्न उठेको भन्दै मन्त्री अर्यालले केही कमजोरीका कारण माथि क्लिन भए पनि तलबाट गिज्याउने काम भइरहेको बताइन् ।

‘हामी पहिलो नम्बरमा सुशासन कायम गर्न लागिपरेका छौं । हामी मातहतका कार्यालयमाथि प्रश्न उठेका छन्,’ मन्त्री अर्यालले भनिन्, ‘हामी क्लिन छौं । भ्रष्टाचारको विषयमा हामीमाथि कुनै प्रश्न उठाउने ठाउँ छैन । तर, तलबाट केही बदमासी भएका कारण हामीलाई गिज्याउने काम भइरहेको छ ।’ तर, मन्त्रालय, मालपोत र नापीमा भइरहेका बदमासी सिस्टमबाटै अन्त्य गर्न लागिपरेको मन्त्री अर्यालले बताइन् ।

मन्त्री अर्यालले कर्मचारीलाई गाली गरेर मात्र नहुने भन्दै यस्ता अरोपहरुलाई चुनौती दिन डिजिटल प्रविधिमा सेवालाई ढाल्न लागेको बताइन् । डिजिटल सेवाको सुरुआतस्वरूप कलङ्कीबाट नमुना कार्यालय बनाउन सुरु गरिएको भन्दै मन्त्री अर्यालले यसले राजस्वमा हुने चुहावट बन्द गर्ने, सुशासन कायम हुने र जनताले सहजरूपमा सेवा प्राप्त गर्ने बताइन् ।

अबको एक वर्षमा देशैभरका मालपोत र नापी कार्यालयमा त्यो सिस्टम लागु गर्ने योजनाअन्तर्गत मन्त्रालय अगाडि बढेको भन्दै उनले डेढ वर्षमा स्थानीय तहलाई हस्तान्तरण गर्दा प्रविधिसहितको सेवा हस्तान्तरण गरिने बताइन् ।

यसको सुरुआत कलङ्की मालपोत कार्यालयबाट गरिएको र एक वर्षभित्र देशैभरका सबै मालपोत र नापी कार्यालयमा डिजिटल सेवा लागू गर्ने योजनामा आफूहरु लागिरहेको बताइन् ।

बिचौलियामुक्त कार्यालय बनाउन लागेको भन्दै उनले सेवाग्राहीबाहेक अन्य व्यक्तिलाई कार्यालय हाताभित्र प्रवेश निषेध गरेर सेवाग्राहीमुखी सेवा दिनुपर्ने बताइन् ।

यस अवसरमा नापी कार्यालय भक्तपुरका प्रमुख ज्ञानेन्द्रकुमार विष्टले ७ महिनादेखि कार्यालयले आफ्नै भवनबाट सेवा दिइरहेको, अनाधिकृत व्यक्तिको प्रवेश रोक्न डोरलक सिस्टम अपनाइएको, डिजिटल रुपमा सेवा दिइएको, दोहोरो स्क्रिन डिस्प्लेमार्फत कम्प्युटर सेवा दिइएको तथा टोकन प्रणालीमार्फत सेवा दिइएको जानकारी दिएका थिए ।

यसैगरी मालपोत कार्यालय भक्तपुरका प्रमुख ध्रुवप्रसाद कोइरालाले कार्यालयमा भइरहेको सेवा तथा समस्याका बारेमा मन्त्री अर्याललाई जानकारी गराएका थिए । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलालले सेवाग्राहीमैत्री भएर सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।