२०७५ का हाइलाइट घटना, अस्वीकृत प्रधानन्यायाधीशदेखि ब्याजदर र सेयरबजार आन्दोलनसम्म

कामदार पठाउन रोक लगाएको ६ महिनापछि मलेसियासँग नयाँ श्रम समझदारी गरेको थियो । श्रम समझदारीमा पुरानै संयन्त्रबाट कामदार लिने र कामदारबाट उठाउँदै आएको रकम रोजगारदाता कम्पनीले बेहोर्ने गरी हस्ताक्षर गरेका थिए । श्रम समझदारी भएको लामो समय बित्दासमेत रोजगारी नखुलेको भन्दै श्रम मन्त्री विष्टको आलोचना भएको थियो ।

वर्ष २०७५ सुरु हुँदा सरकार भर्खरै गठन भएको थियो । धेरै जनतामा आशाका किरण देखिएका थिए । अझ सरकारले यातायात क्षेत्रमा भएको सिन्डिकट हटाउने, सरकारी खर्चमा अङ्कुश लगाउने र जनताको आवश्यकतालाई ख्याल गरेर बजेट बनाउने उद्घोष गरेपछि एक प्रकारले जनस्तरमै उत्साह आएको थियो । बजेटपछि भने सरकारले गरेका वाचा पूरा नभएको र करको भारी बोकाइएको भन्दै सरकारको आलोचना सुरु भयो । सरकारले कार्यान्वयनमा ल्याउने घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम र बेरोजगार युवालाई कम्तीमा १ सय दिनको रोजगारी दिने वा त्यो अवधिको भत्ता दिने कार्यक्रम पनि अघि सार्यो । तर पनि जनमानसमा अझै उत्साह देखिएको छैन । वर्ष २०७५ सकिँदै गर्दा लगानी सम्मेलन गरेर नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने सन्देश छोडेको छ भने पहिलो पटक १५ औं योजनाको अवधारणपत्र सार्वजनिक गर्दा २५ बर्से विकास रणनीति पनि सार्वजनिक गरेर दीर्घकालीन विकासका लागि सरकार अग्रसर भएको सङ्केत गरेको छ । २०७५ मा सतहमा आएका केही घट्नाक्रम :

साढे १० महिनापछि खुलेको मलेसिया रोजगारी
नेपाली युवाहरुको प्रमुख गन्तव्यका रुपमा रहेको मलेसियाको रोजगारी करिब साढे १० महिनापछि खुलेको छ । मलेसियाले स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पठाएसँगै कलिङ भिसा आएकाहरुलाई मलेसियामा पठाएका छन् भने नयाँ कामदारहरुलाई भने नयाँ मेडिकलबाट स्वास्थ्य परीक्षण गरी पठाउनेछन् ।

मलेसिया जाने कामदारमाथि आर्थिक भार पारेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जेठ ३ गते ५ ओटा संस्था बायोमेट्रिक, भीएलएन, माइग्राम्स, आईसी र जीएससीलाई कारबाही गर्ने भन्दै तत्कालका लागि कामदार पठाउन रोक लगाएको थियो ।

कामदार पठाउन रोक लगाएको ६ महिनापछि मलेसियासँग नयाँ श्रम समझदारी गरेको थियो । श्रम समझदारीमा पुरानै संयन्त्रबाट कामदार लिने र कामदारबाट उठाउँदै आएको रकम रोजगारदाता कम्पनीले बेहोर्ने गरी हस्ताक्षर गरेका थिए । श्रम समझदारी भएको लामो समय बित्दासमेत रोजगारी नखुलेको भन्दै श्रम मन्त्री विष्टको आलोचना भएको थियो ।

फेक रेस्क्यू
नेपाल आउने विदेशी पर्यटकहरुलाई पदयात्राका क्रममा बिरामी बनाएर उद्धार गरी ठगी गर्ने गरेको रहस्य क्यापिटलले गत जेठ १३ गते सार्वजनिक गरेको थियो । क्यापिटलले निरन्तर रुपमा समाचार प्रकाशन गरेपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले छानबिन समिति बनाएका थिए । छानबिन समितिले सात सय पृष्ठको प्रतिवेदन मन्त्रालयमा बुझाए पनि सम्बन्धित संस्थाहरुलाई कारबाही नगरेको भन्दै सरकारको आलोचना हुन थालेको छ । नेपालमा धेरै फेक रेस्क्यू हुने गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत प्रकाशित हुन थालेपछि बिमा गर्नेको सङ्ख्यामा कमी आएको छ । यसको प्रभाव हिमाल आरोहणदेखि पदयात्राका लागि नेपाल आउने पर्यटकमा प्रत्यक्ष देखिएको छ ।

अस्वीकृत प्रधानन्यायाधीश
कायममुकायम प्रधानन्यायाधीश रहेका दीपकराज जोशी संसद्को विशेष सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भए । समितिले साउन १८ गते उनलाई प्रधानन्यायाधीशका लागि अस्वीकार गर्दै आवश्यक परे अदालतमा पनि संसद्ले नियन्त्रण गर्न सक्छ भन्ने सन्देश दिएको छ । त्यसपछि सर्वोच्चको प्रधानन्यायाधीश दोस्रो वरीयताका ओमप्रकाश मिश्र भए भने त्यसपछि चोलेन्द्रशमशेर जबरा । जोशी समितिबाट अस्वीकृत भए पनि लामो समयसम्म अदालतको निर्णय प्रक्रियामा सहभागी भए । राष्ट्र बैङ्कलाई एनसेल तथा सुमार्गीको रोक्का भएको पैसा फुकुवा गर्ने आदेश जोशीकै इजलासले दिएको थियो । चोलेन्द्र प्रधानन्यायाधीश भएर आएपछि इजलास नदिएपछि उनले राजीनामा दिएका थिए ।

चौधरी र शाहलाई जन्मकैद
टीकापुर काण्डमा मुछिएका राजपाका सांसद् रेशम चौधरीलाई जन्मकैदको फैसला गरेको छ । उच्च सुरक्षा अधिकारी र नाबालक गरी ९ जनाको हत्या घटनामा जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको हो । पुस १९ गते उनले प्रतिनिधिसभाको सांसदको शपथ लिएका थिए । अदालतले दोषी ठहर गरेसँगै राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । त्यस्तै जिल्ला अदालत धनुषाले ६ वर्षअघि भएको जनकपुर बमकाण्डका मुख्य नाइके पूर्वराज्यमन्त्री सञ्जय शाह (टक्ला)लाई जन्मकैदको सजाय सुनाएको छ । ५ वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका शाहमाथि जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्या गरेको अभियोग छ ।

वाइडबडी जहाज खरिद प्रकरण
पुस १५ : वाइडबडीमा भ्रष्टाचार ठहर । सार्वजनिक लेखा समितिअन्तर्गतको संसदीय उपसमितिद्वारा नेपाल वायुसेवा निगमको वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । उपसमितिले ‘गम्भीर त्रुटि’ औंल्याउँदै विमानको लागत, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न सिफारिस गरेको थियो । यद्यपि भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न मन्त्रिपरिषद्बाटै निर्णय गरेर सरकारले पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा ३ सदस्यीय छानबीन समिति बनाएको घोषणा गरेको थियो । तर, सो समितिले छानबिनको जिम्मेवारी नै पाएन भने यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेको छ । महालेखापरीक्षकको कार्यालयले वाइडबडी जहाज खरिद प्रक्रिया कानुनविपरीत रहेको ५५औं वार्षिक प्रतिवेदन २०७४ मा उल्लेख गरेको थियो । त्यसपछि यो प्रकरण चर्चामा रहँदै आएको छ । निगमले गत असार १४ स्थापनाको ६० वर्षपछि दुई ओटा वाइडबडी जहाज नेपाल ल्याएको थियो ।

देशले गुमायो वृद्धभत्ताका सूत्राधार र बहालवाला मन्त्री
फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गयो । तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा प¥यो । दुर्घटनामा मन्त्री अधिकारीसहित प्रतिष्ठित व्यापारी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर ध्रुुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भयो । पछिल्ला तीन ओटा निर्वाचनमा कास्कीबाट प्रत्यक्ष निर्वाचित अधिकारी नेकपाको नयाँ पुस्ताका उदीयमान नेता थिए ।

फागुन १८ गते शनिबार नेकपा नेता एवम् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भयो । फोक्सो र मुटुसम्बन्धी समस्याबाट पीडित अधिकारी २०५१ सालको कम्युनिस्ट सरकारका अर्थमन्त्री थिए । उनी आफ्नो गाउँ आफैं बनाऊँ र वृद्धभत्ताका सूत्राधार पनि थिए । उनले नै २०५२ मा ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना एक सय रुपैयाँ दिने घोषणा गरेका थिए । त्यसैगरी पुस ३ गते पञ्चायती व्यवस्थाका डिजाइनर तुलसी गिरीको पनि ९३ वर्षको उमेरमा निधन भयो । उनी २०५९ मा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि मन्त्रिपरिषद्को उपाध्यक्ष भएका थिए । त्यसैगरी करीब छ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहेका काङ्ग्रेस नेता चक्रप्रसाद बास्तोलाको गत असोजमा निधन भएको छ । २०४८ सालमा भारतका लागि नेपालका राजदूत बनेका उनी २०५८ सालमा परराष्ट्रमन्त्री बनेका थिए । मानव अधिकारकर्मीको पहिचान बनाएका वामपन्थी नेता पद्मरत्न तुलाधरको पनि यसै वर्ष निधन भयो । २०४२ सालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवार बनेका तुलाधर २०५१ सालमा श्रम तथा स्वास्थ्यमन्त्री थिए ।

नेपालले असार ४ गते वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा गुमायो । साथै प्रदेश ५ मा नेकपातर्फ दाङ ३ (ख)का प्रदेश सांसद रहेका उत्तरकुमार वलीको फागुन १० कार दुर्घटनामा परी निधन भएको छ । भक्तपुर १ (क) बाट निर्वाचत प्रदेश ३ का नेकपा सांसद हरिशरण लामिछाने र गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधित्व गर्ने बागलुङ २ (ख)का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भयो । त्यसैगरी बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई, वरिष्ठ साहित्यकार एवम् भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेल र वरिष्ठ साहित्यकार प्रा. मोहनराज शर्मालाई पनि यसै वर्ष गुमाएको छ ।

हवाई तथा सडक दुर्घटनाको लस्कर
पर्यटन नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना पाथीभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा ताप्लेजुङ्को दाह्रेभीर सिस्ने खोलामा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको घटनाले मुलुकमा अझै हवाई क्षेत्र असुरक्षित छ भन्ने देखाएको छ । यसअघि भदौ २३ मा अल्टिच्युड एयरको हेलिकोप्टर दोलखाको सामागाउँबाट काठमाडौं आउँदै गर्दा नुवाकोटमा दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको थियो । त्यसअघि वैशाख ६ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट मलेसिया उड्ने क्रममा मालिन्दो एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । पछि उक्त जहाजलाई सुरक्षित रुपमा पार्किङमा पु¥याइएको थियो ।

हवाई क्षेत्रमा मात्रै होइन, सडक र अन्य स्थानमा पनि भएका दुर्घटनामा दर्जनौं मानिसको मृत्यु भएको छ भने सयौं घाइते बनेका छन् । भदौ ९ गत रौतहट लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । त्यस्तै भदौ १६ गते बेगनास तालमा डुङ्गा पल्टिँदा दुई जना महिलाको मृत्यु भएको छ ।

मङ्सिर ६ गते डेल्धुराको उग्रतारा भगवती मेलाबाट यात्रु लिएर डोटीतर्फ गुडेको बस दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको छ भने मङ्सिर १२ गते सुर्खेतको बाँकी–बाहाकोट सडकखण्डमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । त्यसअघि साउन २ गते रुकुमपूर्वको सिस्ने गाउँपालिकामा पर्ने मध्यपहाडी राजमार्गमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । त्यस्तैगरी जेठ १८ गते पाल्पामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । त्यस्तै कात्तिक १९ गते डोल्पाको ठूली भेरी नजरपालिका ९ बाट जिप खस्दा १० जनाको मृत्यु । असार १५ मा नेचासल्यान गाउँपालिका २ मा सल्यानबाट सल्लेरी जाँदै गरेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु ।

सिन्डिकेट खारेजी
सरकारले नयाँ वर्षको सुरुवातमै २०७५ वैशाख ४ गते यातायात व्यवसायीको सङ्घसंस्था जिल्ला प्रशासन कार्यालय (जिप्रका)मा रोक्ने निर्णय गर्दै सिन्डिकेट खारेजी घोषणा गर्यो । लगत्तै सरकारले वैशाख २२ गते यातायात व्यवसायीहरुलाई सरकारको निर्णयविरुद्ध लागेको भन्दै पक्राउ सुरु ग¥यो भने २३ गते नेपाल राष्ट्र बैङ्कले जिप्रकामा दर्ता भएर सञ्चालनमा आएका यातायातसँग सम्बन्धित सङ्घसंस्थाको खाता रोक्का राख्ने निर्णय ग¥यो । यद्यपि सरकारले चालेको कदम प्रभावकारी नहुँदा सिन्डिकेट पुरानै अवस्थामा छ ।

३३ किलो सुनकाण्डमा तानिए न्यायाधीश
बहुचर्चित ३३ किलो सुनकाण्डमा माघ ३ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उच्च अदालत विराटनगरमा कार्यरत न्यायाधीश नागेन्द्रलाभ कर्ण, सारङ्गा सुुवेदी, थिरबहादुुुर कार्की, उमेशराज पौडेल र उमेशकुुमार सिंहलाई कारबाहीस्वरुप न्यायपरिषद्मा ताने । सनम शाक्य हत्या र ३३ किलो सुुन तस्करी प्रकरणमा निर्णय दिने ती न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेको ४ दिनपछि नै ७ गते उच्च अदालत विराटनगरका मुुख्य न्यायाधीश डा. कुुलरत्न भूर्तेललाई पनि जिम्मेवारीमुक्त गरियो । सनम शाक्य हत्या प्रकरण र ३३ किलो सुन तस्करीको आरोपमा जिल्ला अदालत मोरङमा वैशाख १९ गते ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो । यस प्रकरणमा पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको नाम जोडिए पनि उनीविरुद्ध भने मुद्दा दर्ता भएन । यस प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) जेठ ८ मा पक्राउ परेका थिए । मुद्दामा मुछिएका एसएसपी श्याम खत्रीले जेठ १७ मा जिल्ला अदालत मोरङा आत्मसमर्पण गरेका थिए ।

ब्याजदर र सेयर बजार आन्दोलन
यो वर्ष नेपालको पुँजीबजारका लगानीकर्ता र बैङ्कमा ब्याज तिरिरहेका व्यवसायीहरुले सडकमै निस्केर आन्दोलन गरी सरकारलाई दबाब दिए । ब्याजदर घटाउनुपर्ने माग गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घसमेत सडकमा निस्कियो भने घटेको सेयर बजार सुधार हुनुपर्ने र नियामकीय सुधार आवश्यक रहेको भन्दै धितोपत्र बजारका लगानीकर्ता पनि आन्दोलनमा होमिए । उनीहरु आमरण अनशन मात्रै बसेनन्, प्रहरीले पक्राउसमेत गर्नुपर्ने अवस्था सिर्जना भयो । त्यसैबीचमा सरकारले ब्याजदर र सेयर बजारबारे अध्ययन गर्न डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति बनायो । समितिले दिएका केही सुझाव कार्यान्वयन गरेको सरकारले केही सुझाव कार्यान्वयन गर्ने बताइरहेको छ ।

निर्मला हत्या प्रकरण
साउन १० गते कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । २०७५ सालको अन्त्यसम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन । यही घटनामा हत्यारा पत्ता लगाई कारबाही माग गर्न मागसहित गरिएको आन्दोलनमा महेन्द्रनगरमा कफ्र्यूसमेत लगाउनुप¥यो । आन्दोलनका क्रममा भदौ ८ मा प्रहरीको गोली लागी अर्का एक जनाको मृत्यु भयो । घटनामा सरकारले कात्तिक ८ गते नेपाल प्रहरी कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाटै बर्खास्त गरेको थियो । बलात्कारपछि हत्या गर्ने क्रममा कुनै कमी आएको छैन । यस्ता घटना भइरहेका छन् । तर, अरु घटनाले निर्मलाको जस्तो स्थान पाएनन् र गुपचुप भए । यद्यपि पछिल्ला दिनमा बलात्कार र त्यसपछि हुने हत्याका घटना सार्वजनिक हुन थालेका छन् । भदौ १० गते महोत्तरीको औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भयो । माघ १३ गते विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रूपमती दासको बलात्कारपछि हत्या भएको छ । राजधानीको गोङ्गबुमा एक बालकलाई अपहरण गरी मङ्सिर १३ मा हत्या गरिएको हो ।

पशुपतिको ‘लुट्न सके लुट कान्छा’
गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ नामक गीतले सरकारको व्यापक आलोचना भयो । गीत शर्माको युट्युब च्यानलबाट हटाउन सरकारले दबाब दिएको भनेर आलोचना भएको हो । यद्यपि गायक शर्माले सरकारले त्यस विषयमा कुनै दबाब नदिएको र प्राविधिक कमजोरी देखिएकाले हटाएको बताउँदै आएका छन् । शर्माको गीतमा प्रधानमन्त्री ओलीले समेत सार्वजनिक कार्यक्रमबाट प्रस्टीकरण दिनुप¥यो ।

भ्रष्टाचारमा अख्तियार आयुक्तदेखी पूर्वगभर्नरसम्म
भ्रष्टाचारको अनुसन्धान गरी कारबाही गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नै भ्रष्टाचार प्रकरणमा मुछिएका छन् । अख्तियारका आयुक्त राजनारायण यादवविरुद्ध ७८ लाखको भ्रष्टाचार मुद्दा लाग्यो ।

ठूला सरकारी ठेक्का समयमै पूरा नगरी अलपत्र छाड्ने पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सङ्घीय समाजादी फोरमका सांसद हरिनारायणप्रसाद साह रौनियार (पप्पु), उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर ग¥यो । अख्तियारले उनीहरुसँग ९० करोड ८९ लाख २ हजार ५ सय ८ रुपैयाँको बिगो दाबी गरेको छ ।

बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट बबई पुल निर्माणमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्षसहित पप्पुसँगै डिभिजन सडक कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ, राजेशकुमार यादव र निमित्त डिभिजन प्रमुख नवराज केसी, इन्जिनियर प्रेमप्रसाद चुवाई, हरिबहादुर खड्का, दीपेन्द्रबहादुर विष्ट तथा सब इन्जिनियर कार्मा तेन्जिङ तामाङ, गोविन्द गैरे र एभरेस्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारले सिक्टा सिँचाइ आयोजनामा साढे ८ अर्ब भ्रष्टाचार भएको भन्दै कालिका कन्स्ट्रक्सनका प्रमुख एवम् पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर ग¥यो । त्यसैगरी पोलिमर नोट छपाईमा भ्रष्टाचार भएको भन्दै एक करोड बिगो दाबीसहित नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. तिलकबहादुर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालबहादुर पाँडेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपाल आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपाल खड्काले अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले १८ करोड ६६ लाख ५ हजार रुपैयाँको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर ग¥यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको अरोपसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । रेडियो अपरेटर (सुन जाँच गर्ने मेसिन चलाउने)समेत रहेका उनी ३३ किलो सुन तस्करीमा समेत तानिएका थिए ।

अख्तियारले जनकपुर अञ्चल अस्पताल धनुषामा कार्यरत आर्युवेद अधिकृत मिथिलेशकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस्तै सुलिचौर नगर विकास समिति रोल्पाका अध्यक्ष प्रकाश घर्ती मगरले पनि नक्कली शैक्षिक प्रमाणपत्रका भरमा काम गरेको भन्दै मुद्दा दायर गरेको छ ।

वैशाख ६ : ज्यान मार्ने मुद्दामा कसुरदार ठहरिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ ग¥यो । तर प्रदेश ४ का लागि मनाङ (ख)बाट निर्वाचित गुरुङले माघ १४ गते सांसद पदको शपथ लिए ।

वैशाख २४ : चर्चामा आउन आफैंलाई गोली हान्न लगाउने हिन्दू धर्मगुरु श्रीनिवासाचार्यलाई प्रहरीले पक्राउ ग¥यो । उनी चर्चामा आउन २०७४ चैत २५ गते आफ्ना सहयोगीलाई लगाएर आफूलाई गोली हनाएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

जेठ ३ : नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकताको घोषणा । केन्द्रमा पार्टी एकीकरण भए पनि स्थानीय तहसम्म एकीकरण अझै भइसकेको छैन । पार्टी एकीकरण गर्ने मूल उद्देश्यसहित २०७४ मा भएको सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा मिलेर जाँदा करिब दुईतिहाई बहुमत हासिल गरेका थिए ।

जेठ २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नाममा निर्वाचन आयोगमा पार्टी दर्ता भएको थियो ।

जेठ ९ : द्वन्द्वकाल (२०५५ साल)मा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई माफी दिने सरकारको निर्णय ।

असार २१ : देउवा सरकारका सबै राजनीतिक नियुक्त खारेज गर्ने ओली सरकारको निर्णय । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै राजनीतिक नियुक्त गरेको सरकारको दाबी । यद्यपि कतिपय निर्णय भने सर्वोच्च अदालतको आदेशद्वारा कार्यान्वयन हुन सकेन ।

असार २२ : प्रदेश ४ को प्रदेशसभा बैठकद्वारा प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने निर्णय । यसअघि २०७४ फागुन १२ मा प्रदेश ७ को नाम कर्णाली र राजधानी सुर्खेत राख्ने निर्णय गरेको थियो ।

असार २३ : नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई विदेश जान रोक । उनी सात सदस्यीय टोलीसहित क्यानडा जाँदै थिए ।

साउन १ : सरकारविरुद्ध काङ्ग्रेसको आन्दोलन घोषणा । काङ्ग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध देवव्यापी आन्दोलन घोषणा गरेको हो । तर आन्दोलन घोषणा गरेको काङ्ग्रेसले एकाध ठाउँमा विरोध जुलुसबाहेक अरु कुनै कार्यक्रम गरेन र आन्दोलन त्यत्तिकै सेलायो ।

साउन ८ : कानुन तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङद्वारा राजीनामा । बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका महिलाहरुबारे गरेको टिप्पणीमाथि व्यापक विरोध भएपछि मन्त्रीबाट राजीनामा दिएका हुन् । त्यसको केही समयपछि प्रधानमन्त्री केपी ओलीले भानुभक्त ढकाललाई कानुनमन्त्री बनाए । त्यसै दिन सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको थियो ।

साउन १७ : प्रहरीद्वारा सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्या अभियोगमा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गरी अदालतमा पेस । यसअघि उच्च अदालत जनकपुरले शर्मालाई पक्राउ गर्न आदेश दिएको थियो ।

साउन २४ : विशेष अदालतद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आंशिक दोषी ठहर गर्दै गुन्डानाइके गणेश लामालाई एक वर्ष जेल र १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो जफत हुने ठहर ।

भदौ ५ : अत्यावश्यक वस्तु तरकारी बिक्रीवितरणमा हडताल गरेर कालिमाटी तरकारी बजारका व्यापारी आन्दोलनमा उत्रिए । सटर भाडामा अनियमितता भएको भन्दै सरकारले हस्तक्षेप गरेपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । पछि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी पुनः फर्किएसँगै शान्त ।

भदौ ७ : हवाईमार्गबाट विदेश जाँदाआउँदा नेपाली यात्रुको बिमा रकम प्रतियात्रु १ करोड ६० लाखसम्म हुने प्रस्ताव संसद्द्वारा पारित ।

भदौ १५ : बिम्स्टेक राष्ट्रको गरिबी हटाउनेलगायत प्रतिबद्धता व्यक्त गर्दै चौथो बिम्स्टेकको शिखर सम्मेलन नेपालमा सम्पन्न । सम्मेलनमा नेपालसहित बङ्गलादेश, भारत, भुटान, म्यानमार र श्रीलङ्का र थाइल्यान्डका राष्ट्रप्रमुख सहभागी थिए ।

भदौ १६ : काभ्रेली समूहका गुन्डानाइके दावा लामा पक्राउ नयाँदिल्लीबाट पक्राउ ।

असोज ७ : सरकारले यातायात व्यवसायीसँग चारबुँदे सम्झौता गरी १० प्रतिशत भाडादर बढाउने निर्णय ।

असोज १२ : प्रदेश ७ को प्रदेशसभाद्वारा प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव दुईतिहाइ बहुमतद्वारा पारित ।

कात्तिक ६ : साझा यातायातले पुल्चोकदेखि सिंहदरबारसम्म विद्युतीय बस सञ्चालन । प्रधानमन्त्री केपी ओली सवार भएर सुरु गरिएको सो सेवा त्यसपछि भने बन्द छ । त्यति बेला तीन विद्युतीय बस चलाउने भनिएको थियो । पछि सरकारले थप ३ सय विद्युत् बस खरिद गर्नेसमेत निर्णय गरेको थियो । त्यो निर्णय पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

कात्तिक १४ : किसानलाई सवा ४७ करोड रुपैयाँ भुक्तानी नगरेको भन्दै चिनी उद्योगी राकेश अग्रवाल पक्राउ

कात्तिक १६ : प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापित बर्खास्त

कात्तिक १९ : नेपाल स्टक एक्सचेन्जद्वारा सेयर कारोबार अनलाइबाट सुरु

कात्तिक २७ : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्त

मङ्सिर १० : योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू । सरकारले निजीक्षेत्र र सरकारी कर्मचारीहरुका लागि यस्तो सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मङ्सिर १५ : एसिया प्यासिफिक सम्मेलन नेपालमा । कम्बोडिया, म्यानमारलगायत मुलुकका शीर्ष नेताको सहभागिता ।

पुस ४ : काठमाडौं उपत्यकाको चक्रपथमा मोनोरेल बनाउन चिनियाँ कम्पनीसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने सम्झौता । काठमाडौं महानगरपालिकाले एक वर्षभित्र डीपीआर तयार गर्ने गरी चाइना रेलवे २५औं ब्युरो कम्पनी ग्रुप कम्पनीसँग सम्झौता ।

पुस ११ : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको राजीनामा । अयोग्य भनी हटाइएका झालाई केपी ओली नेतृत्वको सरकारले पुनः नियुक्ति दिएपछि सर्वत्र विरोध भएको थियो भने नेकपाका ४३ सदस्यले हस्ताक्षर सङ्कलन नै गरेका थिए ।

पुस १९ : सरकारको पहलमा सभामुख कृष्णबहादुर महराद्वारा टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई शपथ ।

पुस २९ : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफूअनुकूलको गैरसरकारी संस्थालाई आयोजना नपारेको भन्दै सभामुख सरोज यादवको सामुन्ने उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा झापड हाने ।

माघ १४ : नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला नेपालको पोल्टामा । कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङले शृङ्खला जित्न सहज ।

माघ १६ : धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण घोषणा । प्रधानमन्त्री केपी ओलीद्वारा सम्बोधन ।

चैत ११ : जापानमा नेपाली कामदार लैजाने विषयमा नेपाल सरकार र जापान सरकारबीच दुईपक्षीय सम्झौता । जापानले विभिन्न १४ क्षेत्रमा नेपाली कामदार लैजाने ।

चैत २७ : प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाइदिए । मन्त्रालयको काममा चासो नदिएको र मातहतका महाशाखाले पठाएका फाइल कार्यान्वयन नगरेको भन्दै उनले सचिवको कार्यकक्षमा ताला लगाइदिएका हुन् ।