जापानमा रोजगारीः पाठ्यक्रम तयार नहुँदा कामदार पठाउन ढिलाइ

समझदारीमा सरकार मार्फत नै कामदार पठाउने उल्लेख छ । तर जापानले आवश्यक तयारी नै पूरा नगरेको कारण हालसम्म अन्यौलमा परेको मन्त्रालय श्रोतको भनाइ छ ।

काठमाडौं । सरकारले जापनिज भाषाको नयाँ पाठ्यक्रमको टुङ्गो लगाउन नसक्दा नेपाली कामदारहरु कहिलेबाट जापान जाने भन्ने विषय टुङ्गो लाग्न सकेको छैन् । चैत १८ देखी कार्यन्वयनमा आउने गरी ११ गते दुई देशबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीमा सरकार मार्फत नै कामदार पठाउने उल्लेख छ । तर जापानले आवश्यक तयारी नै पूरा नगरेको कारण हालसम्म अन्यौलमा परेको मन्त्रालय श्रोतको भनाइ छ ।

जापानले भाषा परीक्षामार्फत नेपाली कामदारहरु लिने बताइए पनि कुन लेभलको भाषा आवश्यक पर्छ भन्ने यकिन गरिसकेको छैन । मन्त्रालयका एक सह–सचिवले नेपाललगाएत ९ ओटै देशका लागि पाठ्यक्रम तयार पारिरहेको जानकारी आएको बताए । तर, कहिलेसम्म पाठ्यक्रम तयार भइसक्ने र कहिलेबाट कामदार लैजाने भन्ने विषयमा भने निर्णय नआएको उनको भनाइ छ ।

दुई देशबीच श्रम समझदारी भएलगत्तै जापानका रोजगारदाता कम्पनीहरुले भने नेपाली कामदारहरु लैजान विषेश चासो देखाइरहेको मन्त्रालयको भनाई छ । पछिल्लो समय धेरै मागहरु आइरहेको बताउँदै त्यहाँको सरकारले प्रक्रिया टुंगो लगाउने बित्तिकै कामदार पठाउने मन्त्रालयको तयारी रहेको छ ।

पछिल्लो समय धेरै नेपाली विद्यार्थीहरु अध्ययनका लागि जापानमा गएका छन् । पढाईसँगै राम्रो कमाई हुने भएकोले धेरै विद्यार्थीहरुको रोजाईमा जापान पर्ने गरेको हो । आकर्षक तलब पाउने भएपछि कामदार भिसामा धेरै नेपाली युवाहरुले चासो व्यक्त गर्दै आएका छन् । जापान जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ हुने छ ।

जापानले विदेशी कामदार लैजान ‘ब्लु कलर’ कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ । जापानले १४ ओटा क्षेत्र कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्यपदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा श्रमिक लाने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस् ।

जापानसँग श्रम सम्झौता : उच्च तहको सीप हुने श्रमिकले परिवार पनि लैजान पाउने

नेपाल र जापानबीच श्रम सम्झौता, कोरियन मोडलमै कामदार लैजाने, कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ