जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध छः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताएका छन् ।

लहान । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताएका छन् ।

सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्दै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाअघि सारेको बताए ।

‘बजेट प्रर्याप्त छ, भएको बजेटलाई समयमै सकाउन सकिए विकासको लहर आउँछ ।, मन्त्री महासेठले भने, ‘त्यसका लागि जनप्रतिनिधि इमानदार हुनुपर्छ ।’

तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सिरहामा मात्र चालू आर्थिक वर्षमा ३२ ओटा विकासका योजना ल्याएको बताउँदै मन्त्री महासेठले सिरहा, सप्तरी, धनुषालगायत मधेशका सबै जिल्लालाई प्राथमिकतामा राख्दै विकास अगाडि बढाएको बताए ।