नेकपा (एमाले)का रामेश्वर फुयाँल (काठमाडौँ) प्रस्तावक र नेकपा (माओवादी) केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकटेल(धादिङ)को समर्थनमा त्यससम्बन्धी पत्र प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीसमक्ष प्रस्तुत गरिएको छ । तत्कालीन हेटौँडा नगरपालिकामा दुई पटक प्रमुख भएका पौडेल शुक्रबार एमाले ३ नं प्रदेश संसदीय दलमा निर्वाचित भएका हुन् ।
डोरमणि पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव दर्ता
प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा आज अपराह्न १३ः बजे दर्ता गरिएको छ ।
नेकपा(एमाले)का रामेश्वर फुयाँल(काठमाडौँ) प्रस्तावक र नेकपा(माओवादी) केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकटेल(धादिङ)को समर्थनमा त्यससम्बन्धी पत्र प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीसमक्ष प्रस्तुत गरिएको छ । तत्कालीन हेटौँडा नगरपालिकामा दुई पटक प्रमुख भएका पौडेल शुक्रबार एमाले ३ नं प्रदेश संसदीय दलमा निर्वाचित भएका हुन् । उनी नेपाल नगरपालिका सङ्घका अध्यक्ष पनि थिए ।
राधिका तामाङ उपसभामुखमा निर्विरोध
प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ ।
उपसभामुख पदको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गरेका थिए ।
नुवाकोट १ (क)बाट प्रदेशसभामा निर्वाचित ३४ वर्षीय तामाङ शिवपुरी गाउँपालिका–३ की हुन् । पार्टीका केन्द्रीय सदस्य एवं पूर्व कृषि राज्यमन्त्री तामाङ सशस्त्र युद्धकालका बेला नुवाकोट जनसरकार प्रमुख थिइन् ।
यसैबीच आज अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकपूर्व निर्विरोध निर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई संसद् सचिवालयमा शपथ गराइने प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले बताए । प्रदेश नं ३, प्रदेशसभामा कुल ११० सदस्य छन् ।
संसदीय दलको नेता चयनका लागि बैठक सुरु
प्रदेश नं ४ को प्रमुख दल नेकपा (एमाले)को संसदीय दलको नेता चयन सम्बन्धमा छलफल गर्न शान्ति वनबाटिकास्थित पार्टीको जिल्ला कार्यालयमा बैठक सुरु भएको छ ।
संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्यद्वय पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ मुख्य दावेदार भएकाले सर्वसम्मत गर्ने प्रयासस्वरुप बैठक गरिएको हो । बैठकमा पार्टीका प्रदेशसभा सदस्यसहित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, रवीन्द्र अधिकारीलगायतको उपस्थिति छ ।
पार्टी केन्द्रीय निर्वाचन आयोगले संसदीय दलको नेता चयनका लागि बिहान १०ः०० बजेदेखि निर्वाचन कार्यक्रम तालिका प्रकाशन गरिसकेको भए पनि सहमतिका लागि समय तालिका बढाइएको छ ।
प्रदेश ५ः मुख्यमन्त्री नियुक्तिका लागि दाबी प्रस्तुत
प्रदेश नं ५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख उमाकान्त झासमक्ष आज दाबी पेस गरेका छन् ।
एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको सहमतिसहित प्रदेशसभामा एमालेका संसदीय दलका नेता शङ्कर पोखरेललाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोधसहित प्रदेश प्रमुखसमक्ष पत्र बुझाइएको हो ।
एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमत प्रदेश सदस्यको सहमतिसहितको संयुक्त हस्ताक्षर बुझाएका हुन् । सो प्रदेशमा कुल ८७ प्रदेश सदस्यमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० जना छन् । यस प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने एमाले माओवादी गठबन्धनको सहमतिअनुसार एमाले प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीका लागि अगाडि सारिएको हो ।
दुवै दलका संसदीय दलको संयुक्त पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले मुलुकमा राजनीतिक परिवर्तनपछि प्रदेश संरचना पहिलो अभ्यास भएकाले केही विलम्ब भए पनि संविधानले दिएको समयभित्रै सरकार निर्माण गर्ने विषयमा सचेत भएको बताए ।
प्रदेश प्रमुखसमक्ष पत्र बुझाएलगत्तै मुख्यमन्त्रीका लागि अगाडि सारिएका एमाले संसदीय दलका नेता पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्री नियुक्त गरेपछि आगामी फागुन ३ गते शपथ ग्रहण कार्यक्रम हुने र त्यससँगै छोटो मन्त्रिमण्डल गठन गरिने बताए ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले माओवादी प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले प्रदेश सदस्य केसीलाई संसदीय दलको नेता चयन गरेको र आज नै मन्त्रिमण्डलमा पठाउने नेता तथा माओवादी केन्द्रले पाउने प्रदेशसभाको सभामुखका लागि नाम चयन गरिने बताए ।
प्रदेश ६ः सभामुखमा राजबहादुर शाहीको एक्लो उम्मेदवारी
उता प्रदेश नं ६ का सभामुखमा नेकपा(एमाले)का प्रदेशसभा सदस्य राजबहादुर शाहीको एक्लो उम्मेदवारी परेको छ ।
प्रदेश नं ६ प्रदेशसभा संसद् सचिवालयले आज अपराह्न २ बजेसम्म उम्मेदवारी दिने समय तोकेकामा शाहीको मात्र उम्मेदवारी परेको प्रदेशसभा संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश नं ६ प्रदेशसभा सभामुखमा शाहीको एक्लो उम्मेदवारी परे पनि उनको उम्मेदवारी सोमबार अपराह्न १ बजे बस्ने प्रदेशसभा संसद्को बैठकमा निर्णयार्थ पेस हुने निर्वाचन अधिकृत तथा ६ नं प्रदेशसभा संसद् सचिवालयका सचिव खड्काले बताए ।
सभामुखको उम्मेदवारीका बारेमा आजै दाबी विरोधको समय तोकिएको संसद् सचिवालयले जनाएको छ । वाम गठबन्धनका तर्फबाट एमालेबाट प्रस्तावित दैलेख २ (क) का सांसद शाहीलाई नेकपा (माओवादी केन्द्र) ले समर्थन गरेको छ । प्रदेश नं ६ मा नेपाली काँग्रेसका तर्फबाट सभामुखमा उम्मेदवारी नदिइने निर्णय भएको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।
शाहीको उम्मेदवारीमा एमाले पोलिटब्युरो सदस्य तथा सल्यानका प्रदेशसभा सदस्य प्रकाश ज्वाला प्रस्तावक र माओवादी केन्द्र स्थायी समिति सदस्य तथा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही समर्थक छन् ।
प्रदेश नं ६ मा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार गठन हुने र प्रदेशको सभामुख एमालेले लिने वाम गठबन्धनबीच सहमति भएको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका स्थायी समिति सदस्य तथा कालीकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुरलाई मुख्यमन्त्री बनाउने गरी दलको नेतामा चयन गरिसकेको छ ।
सभामुखमा उम्मेदवारी दिएका महेन्द्रबहादुरका पक्षमा ३४ सांसदको समर्थन छ । सो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका छ र राप्रपाका एक गरी ४० सांसद छन् ।