गृहको बजेट घटाउने होइन, बढाउनु पर्छ : गृहमन्त्री थापा

मङ्गलबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ को बजेटका बारेमा भएको छलफलमा गृहमन्त्री थापाले यो वर्ष गृह मन्त्रालयको बजेटको सिलिङ घटाइएको भन्ने सुनिएको भन्दै त्यसो गर्न नहुने बताएका छन् ।

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयको बजेट बढाउनु पर्ने बताएका छन् ।

मङ्गलबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ को बजेटका बारेमा भएको छलफलमा गृहमन्त्री थापाले यो वर्ष गृह मन्त्रालयको बजेटको सिलिङ घटाइएको भन्ने सुनिएको भन्दै त्यसो गर्न नहुने बताएका छन् ।

बजेटमा कमी हुनेबित्तिकै शान्ति सुरक्षामा असर गर्ने भन्दै गृहको बजेट घटाउन नहुने उनको भनाइ थियो । विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुरक्षामा लगानी गर्न अनिवार्य रहेको मन्त्री थापाको भनाइ छ ।

विगतको कामको समीक्षा गरेर नयाँ बजेटमा सोहीअनुसार बजेटको खाका बनाउनसमेत मन्त्री थापाले आफू मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

नयाँ बजेटमा प्रहरीलाई आधुनिकीकरण गर्न तथा स्रोत साधन सम्पन्न बनाउन आवश्यक रहेको भन्दै मन्त्री थापाले त्यसमा गृहमन्त्रालय गम्भीर भएर लागिपरेको समेत बताए ।

छलफल बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो बजेटको मागबारे जानकारी गराएका थिए ।