आईएसले सार्वजनिक गर्यो श्रीलङ्का हमलाका कथित आक्रमणकारीको तस्बिर

आईएस समूहको आधिकारिक समाचार प्रोपोगान्डा संस्था अमाकले आईएसको झन्डाअगाडि खिचिएको उक्त तस्बिर आतंकी हमलाभन्दा केही समयअघि मात्र लिइएको बताएको छ ।

एजेन्सी । आतङ्कवादी सङ्गठन इस्लामिक स्टेट (आईएस)ले श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बम विस्फोटको जिम्मेवारी लिँदै मङ्गलबार एउटा तस्बिर सार्वजनिक गरेको छ । जसमा आठजना व्याक्तिको तस्बिर रहेको छ । समूहले ती व्याक्ति श्रीलंकामा विस्फोटन गर्ने संदिग्ध भनी दाबी गरेको छ । इस्टर आइतबार भएको उक्त हमलामा ३२१ जना मारिएका छन् ।

आईएस समूहको आधिकारिक समाचार प्रोपोगान्डा संस्था अमाकले आईएसको झन्डाअगाडि खिचिएको उक्त तस्बिर आतंकी हमलाभन्दा केही समयअघि मात्र लिइएको बताएको छ । समूहले अमाकमा एक वक्तव्यमार्फत विस्तृत विवरण जारी गर्दै ती कथित हमलाकारीहरुको छद्म नाम बताएको छ । तर उनीहरुको राष्ट्रियता भने खुलासा गरेको छैन ।

तर समूहले त्यस्तो दाबीलाई समर्थन गर्ने कुनै किसिमका प्रमाणका रुपमा तस्बिर र भिडियो भने सार्वजनिक गरेको छैन । यसअघिका उसका हमलाहरुमा उसले आक्रमणकारीहरुले हमलाका लागि प्रतिबद्धता र बफादारिता देखाएको भिडियो वा तस्बिर सार्वजनिक गर्दै आएको थियो ।

समूहले मङ्गलबार बिहान हमलाको जिम्मेवारी लिएको हो ।