पोखरामा प्रदेशस्तरीय मिडिया सम्मेलन सुरु, पहिलो दिन समृद्धि र समावेशिताबारे छलफल

पोखरा । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने मिडिया सम्मेलन सुरु भएको छ ।

मिडिया सम्मेलनको उद्घघाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रेससँग सरोकार राख्ने कानूनहरू निर्माण गर्दा पत्रकार महासंघसँग आवश्यक छलफल गरेर मात्रै अघि बढ्ने भन्दै कानून मन्त्री चुमानले पत्रकारको पेशागत हित र सुरक्षाका लागि प्रदेश सरकारले आवश्यक नीति निर्माणमा जोड दिने बताए ।

‘संघीयताको वास्तविक कार्यान्वयनमा प्रेस जगतले प्रदेश सरकारलाई सघाउन आवश्यक छ, सिर्जनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी र सचेत गराउनु पनि पर्छ,’ उनले भने ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेसविरोधी कानून निर्माणमा सरकार लागेको हो कि भन्ने आशंका बढेको भन्दै प्रेससँग साइनो नै नभएको कानून लगाएर पत्रकारलाई हत्कडी लगाउनु लोकतन्त्र र संविधानविपरीत भएको बताए ।

‘पत्रकारले पनि सोंच्नुपर्ने बेला आएको छ, प्रेस स्वतन्त्रताका लागि पत्रकार सडकमै ओर्लनुपर्ने अवस्था आउनु विडम्बनापूर्ण हो,’ उनले भने ।

रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कारका संरक्षक पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले पर्यटन र समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

शनिबारसम्म चल्ने मिडिया सम्मेलनको पहिलो दिन समृद्धि र पत्रकारिता तथा समावेशिता र पत्रकारिताबारे छलफल भयो । छलफलको पहिलो सत्रमा पत्रकार वासुदेव मिश्रले गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसँग छलफल गरेका थिए । छलफलमा योजना आयोगका उपाध्यक्ष डा. शर्माले मिडियामा विकासका समाचारले प्राथमिकता पाउन नसकेको बताए । त्यस्तै, महासंघका पूर्वअध्यक्ष मुल्मीले नागरिक स्वतन्त्रताको रक्षाका लागि पत्रकारिता जगतको महत्वपूर्ण भूमिका रहेको बताए ।

त्यसैगरी, छलफलको दोस्रो सत्रमा पत्रकार जमुना वर्षा शर्माले समावेशिता र पत्रकारिताबारे नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र लेखक सावित्री गौतमसँग छलफल गरिन् । महासंघका पूर्वअध्यक्ष गाउँलेले पत्रकारितामा पनि देशको वास्तविक तस्वीर झल्किनुपर्ने बताए ।

लेखक गौतमले शारीरिक उपस्थितिले मात्रै समावेशी नहुने भन्दै विषयवस्तुमा समावेशिता आवश्यक भएको धारणा राखिन् ।