राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक सेयर बजारका अध्यक्षको भेट, नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह

नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक विकास गर्नैपर्ने आवश्यकता बढेको र लगानीका लागि उचित वातावरण भएकाले लगानी गर्न राष्ट्रपति भण्डारीले आग्रह गरिन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गरेका छन्।

आइतबरा बिहान भएको भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पु¥याएको बताइन्। उनले नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक विकास गर्नैपर्ने आवश्यकता बढेको र लगानीका लागि उचित वातावरण भएकाले लगानी गर्न आग्रह गरिन् ।

चिनियाँ पक्षबाट मञ्चमा व्यापार, दुई मुलुकबीच सहयोग र लगानीका विषयमा छलफल हुने जानकारी दिइयो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, नेपाल सरकारका उच्चअधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए । रासस