लेज बनाउने आलुको मुद्दामा पेप्सिकोका उत्पादन वहिष्कार गर्ने चेतावनी

भारतीय किसानले बिना अनुमति लेज बनाउने आलुको उत्पादन गरेको भन्दै ती किसान विरुद्ध पेप्सिकोको भारतीय एकाइले मुद्दा दर्ता गरेको थियो । त्यसपछि सामाजिक सञ्जालमा पेप्सिको विरुद्ध खरो प्रतिक्रियाहरुको लहर चल्यो । सामाजिक सञ्जालमा आएका ती प्रतिक्रियाले अमेरिकास्थित प्रधान कार्यालयमा पनि ठूलै हलचल मच्चायो ।

एजेन्सी । लेज र पेप्सीकोला उत्पादक बहुराष्ट्रिय अमेरिकी कम्पनी पेप्सिकोले भारतमा रहेको आफ्नो कन्ट्री हेडक्वाटरलाई सचेत गराएको छ । लेज बनाउन प्रयोग गरिने विशेष आलुको खेती गरेको भन्दै गुजरातका केही किसान विरुद्ध मुद्दा दर्ता गरेपछि प्रधानकार्यालयले त्यसो नगर्न सचेत गराएको हो ।

भारतीय किसानले बिना अनुमति लेज बनाउने आलुको उत्पादन गरेको भन्दै ती किसान विरुद्ध पेप्सिकोको भारतीय एकाइले मुद्दा दर्ता गरेको थियो । त्यसपछि सामाजिक सञ्जालमा पेप्सिको विरुद्ध खरो प्रतिक्रियाहरुको लहर चल्यो । सामाजिक सञ्जालमा आएका ती प्रतिक्रियाले अमेरिकास्थित प्रधान कार्यालयमा पनि ठूलै हलचल मच्चायो ।

त्यसलगत्तै पेप्सी कोला र लेज चिप्स बनाउने पेप्सिकोको अमेरिकास्थित मुख्यालय र एसिया प्यासिफिक क्षेत्रको कार्यालयले आफ्नो भारतीय एकाइको त्यस कदममाथि चिन्ता जनाएको छ । दुई जना वरिष्ठ कार्यकारी अधिकृतले भारतीय एकाइलाई त्यो मुद्दा चाँडो सुल्झाउन आदेश दिएको बताएका छन् । साथै ती कार्यकारीले उक्त मुद्दाले हुन गएको कम्पनीको निन्दाप्रति चिन्ता व्यक्त गरेका छन् ।

पेप्सिकोले गुजरातका नौ जना किसानविरुद्ध कथितरुपमा अधिकारको उल्लङ्घनका लागि मुद्दा दर्ता गरेका हुन् । कम्पनीले हरेक किसानसँग डेढ डेढ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति मागेको थियो । ती किसानले गैरकानुनी तरिकाबाट आलुको एफसी ५ प्रजातिको खेती गर्दै छन्, जसको प्रयोग लेज चिप्स बनाउन प्रयोग गरिन्छ भन्ने कम्पनीले दाबी गरेको छ ।

यस मुद्दालाई लिएर गुजरातमा राजनीतिक हस्तक्षेप पनि भयो, जहाँ भाजपा र कङ्ग्रेसका नेताहरुले मुद्दाप्रति असन्तुष्टि व्यक्त गर्दै कम्पनीको कदमविरुद्ध ट्वीट गरेका छन् । भाजपाको दिल्ली एकाइका प्रवक्ता तेजिन्दर पाल बग्गाले कम्पनीलाई मुद्दा फिर्ता लिन ७२ घण्टाको अल्टिमेटम दिएका छन् । अन्यथा कम्पनीका सम्पूर्ण उत्पादन वहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । साथै सामाजिक सञ्जालमा पनि यो वहिष्कार अभियान चलेको छ ।